धनगढी : खेल काठमाडौंको मैदानमा भइरहेको छ, तर त्यसको धड्कन धनगढीको सडकमा सुनिएको छ। हिजो राति अबेर १० बजेसम्म धनगढी उपमहानगरपालिकाले जेन्जी मार्गमा राखेको स्क्रिन बोर्डअगाडि चिसो सिरेटो खाँदै हजारौँ समर्थकहरू जसरी झुम्मिए, त्यो केवल एउटा खेल हेर्ने रहर मात्र थिएन-त्यो त वर्षौँदेखि सुवास शाहीले रोपेको क्रिकेटप्रतिको माया र लगावको जीवन्त प्रमाण थियो। आफ्नै सहरमा खेल नभए पनि सडककै किनारमा बसेर ताली बजाउने र हुटिङ गर्ने त्यो हुइँचोले देखायो कि धनगढीमा क्रिकेटप्रतिको जोश र जाँगर कुन उचाइमा पुगेको छ।
यो माहोल देख्दा मनमा एकैपटक धेरै कुरा घुम्छन्। आज हामीले सजिलै ‘सिटी अफ क्रिकेट’ भनिरहँदा, यसको पछाडि कसको पसिना, कसको आँसु र कसको कति ठूलो पीडा लुकेको छ भन्ने कुरा बिर्सिन मिल्दैन। सुवास शाही- जसलाई हामी सुदूरपश्चिमका क्रिकेटका पिता भन्छौँ, उनी केवल सपना देख्ने व्यक्ति मात्र होइनन्; ती सपनाका लागि वर्षौँदेखि एक्लै-दोकलै लडिरहेका एक अथक योद्धा हुन्।
१०-१५ वर्षको संघर्ष, पीडा र नथाक्ने यात्रा
आजभन्दा दस-पन्ध्र वर्षअघि जब सुवास शाहीले सानो-सानो सपना बुन्दै धनगढी क्रिकेट एकेडेमी (DCA) को जग बसाले, त्यतिबेला न आजको जस्तो माहोल थियो, न त साथ दिने हातहरूको कमी नहुने अवस्था नै। धुलो र खाल्डाखुल्डीबीच ब्याट-बल समात्न सिकाउँदादेखि प्रतियोगिता आयोजना गर्न स्रोत जुटाउनेसम्मका दिनहरू कति कठिन थिए, त्यो सायद उनलाई मात्र थाहा छ
ठूला एसपिए कप (SPA Cup) डीपीएल (DPL) होस् वा अर्जुन ट्रफी, सुदूरपश्चिमको माटोमा ठूला प्रतियोगिता र क्रिकेट संस्कृति भित्र्याउन उनले कति रात चिन्तामा बिताए, कति अपमान, अवरोध र आर्थिक-मानसिक पीडा सहे ! त्यसको हिसाबकिताब सजिलो छैन। कहिले साथ दिनेहरू टाढा भए, कहिले योजनाहरू कागजमै सीमित हुँदा मन भाँचियो, तर सुवास शाही कहिल्यै थाकेनन्। उनले हार मानेनन्, किनकि उनको भित्र एउटा आगो बलिरहेको थियो ! सुदूरपश्चिमका युवालाई आफ्नै घरआँगनमा ठूला सपना देख्न र पूरा गर्न सिकाउने आगो।
फाप्लाको लडाइँ: हिजो पनि जारी थियो, आज पनि जारी छ
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुवास शाहीका लागि केवल एउटा रंगशाला होइन, त्यो त सुदूरपश्चिमको भविष्य र स्वाभिमान हो। फाप्लाका लागि उनले कति दौडधुप गरे, कति ढोका ढकढक्याए, कति निराशा र ढिलासुस्तीको पीडा भोगे ! त्यो संघर्ष आफैँमा एउटा लामो गाथा हो।
विडम्बना त के भने, सुवास शाहीको त्यो लडाइँ हिजो मात्र थिएन, आज पनि जारी छ। अरूले सजिलै टिप्पणी गरिदिँदा वा मजाक उडाइदिँदा पनि उनी अझै उस्तै अठोटका साथ फाप्लाको सपना पूरा गराउन लडिरहेका छन्।
सडकको हुइँचो र होम ग्राउन्डको प्रतीक्षा
हिजो जेन्जी मार्गमा राति १० बजेसम्म चिसो खाइरहेका ती हजारौँ अनुहारहरू हेर्दा लाग्छ” यदि यही भीड, यही उत्साह र यही माया आफ्नै होम ग्राउन्ड (फाप्ला) मा उतारिन पायो भने के होला?”
होम ग्राउन्डमा अन्तर्राष्ट्रिय स्तरका खेल हुँदा धनगढीको मुहार नै फेरिनेछ। स्थानीय अर्थतन्त्र चलायमान हुनेछ, होटलदेखि यातायातसम्म र साना व्यापारदेखि पर्यटनसम्म नयाँ रगत दौडिनेछ। खेल पर्यटनले सुदूरपश्चिमलाई देश-विदेशमा चिनाउनेछ र हजारौँ युवाले आफ्नै माटोमा भविष्य देख्नेछन्।
आज एनपीएलको क्रेजले धनगढी तातिरहँदा, त्यो चमकको पछाडि सुवास शाहीको वर्षौँदेखिको तपस्या र निरन्तरको संघर्ष उभिएको छ। हिजो पनि उनी लडिरहेका थिए, आज पनि लडिरहेका छन् एउटा यस्तो दिनका लागि, जब धनगढीका समर्थकले सडकमा होइन, आफ्नै फाप्लाको मैदानमा गर्वका साथ ताली बजाउन पाऊन्।




प्रतिक्रिया दिनुहोस्