काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट चुकेको सुदूरपश्चिम रोयल्सले यसपटक पनि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ।
शुक्रबार काठमाडौं गोर्खाजलाई सात रनले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रोपटक प्लेअफ पुग्न सफल भएको हो। योसँगै सुदूरपश्चिम तीनवटै संस्करणमा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। तर‚ काठमाडौंविरुद्धको यो जित सहज थिएन। आठ रनमै चार विकेट गुमाएर संकटमा परेको टोलीलाई कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हाले। त्यसपछि बलरले पनि आफ्नो जिम्मेवारी पूरा गरे।
सुदूरपश्चिमले दिएको १२६ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रनमै रोकियो। सुदूरपश्चिमले सात खेलबाट पाँच जित र दुई हारसहित १० अंक जोडेको छ। यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको थियो।
खेलमा सुदूरपश्चिमको जितको आधार कप्तान दीपेन्द्रको ब्याटिङ बन्यो। टस हारेर पहिले ब्याटिङ गरेको टोलीले सुरुआती दुई ओभरमै चार विकेट गुमाएको थियो। स्कट कुगेलेइन, विनोद भण्डारी, ब्रान्डन म्याकमुलेन र ईशान पाण्डे क्रिजमा टिक्न सकेनन्। आठ रनमा चार विकेट गुमेपछि सुदूरपश्चिम ठूलो संकटमा परेको थियो।
त्यस्तो अवस्थामा दीपेन्द्रले जिम्मेवारी सम्हाले। उनले ५५ बलमा पाँच चौका र दुई छक्कासहित ६० रन बनाए। आरिफ शेखले १६ रन जोड्दै उनलाई साथ दिए। त्यसपछि थारिन्दु रत्नायकेले २३ बलमा अविजित २६ रन बनाएपछि सुदूरपश्चिम १२५ रनसम्म पुग्न सफल भयो।
काठमाडौंका जाहान्दाद खानले सुरुआती चारमध्ये तीन विकेट लिँदै सुदूरपश्चिमलाई दबाबमा राखेका थिए। उनले चार ओभरमा २२ रन खर्चिए। सन्तोष यादवले पनि दुई विकेट लिए। तर दीपेन्द्रको धैर्यपूर्ण इनिङ्सले काठमाडौंको बलिङको प्रभाव कम गरिदियो।
जवाफमा काठमाडौंले पनि ब्याटिङमा निरन्तरता दिन सकेन। राशिद खानले ३१ बलमा पाँच चौकासहित अविजित ३५ रन बनाए। दुशन हेमन्थाले २१ रन जोडे। तर अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। अन्तिम पाँच ओभरमा ३३ रन मात्रै जोड्न सकेपछि काठमाडौं जितबाट सात रन टाढा रह्यो।
सुदूरपश्चिमका अनिल खरेलले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए। स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलेनले एक–एक विकेट लिए। ब्याटिङमा संकटमा परेको टोलीलाई बलरले लक्ष्य जोगाएर साथ दिए।
काठमाडौंले भने लिग चरणको अन्तिम खेलमा १५ नोभेम्बरमा पोखरा एभेन्जर्ससँग खेल्नेछ। ६ खेलबाट आठ अंक जोडेको काठमाडौंले उक्त खेल जिते १० अंक पुर्याउनेछ। त्यसैले प्लेअफको दौडमा रहेको काठमाडौंका लागि अन्तिम खेल निर्णायक हुनेछ।




प्रतिक्रिया दिनुहोस्