धनगढी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदर्श मल्लले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको कडा शब्दमा विरोध गरेका छन्। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले ‘नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको’ भनी दिएको बयानप्रति नेपाली राजनीतिक, कूटनीतिक र बौद्धिक वृत्तमा व्यापक बहस तथा चौतर्फी आलोचना सुरु भएको छ। वाग्लेको उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय हितलाई कमजोर देखाएको र भारतसामु लम्पसार परेर चाकडीको सीमा नाघेको आरोप युवा नेता मल्लले लगाएका छन्।
नेपालको इतिहास, कूटनीतिक परम्परा र राष्ट्रिय स्वाभिमानको सन्दर्भ कोट्याउँदै नेता मल्लले नेपाल कहिल्यै पनि कुनै देशको विरोधमा नरहेको स्पष्ट पार्एका छन्। उनले नेपाल सधैँ आफ्नै राष्ट्रिय हित, सार्वभौमिकता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएको राष्ट्र भएको बताएका छन्। “हामी कुनै देशविरोधी होइनौँ, न त कुनै अन्य मित्रराष्ट्रप्रति वैरभाव नै राख्छौँ,” मल्लको भनाइ छ, “तर नेपाल र नेपालीको हितमाथि आँच पुर्याउने जुनसुकै गतिविधि, नीति वा निर्णयका विरुद्ध हाम्रो आवाज सधैँ बुलन्द हुनुपर्छ। राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको सवालमा नेपाल सगरमाथाझैँ अटल छ र रहिरहनेछ।”
नेपाल र नेपालीको पक्षमा आवाज उठाउनु, राष्ट्रिय हितको रक्षा गर्नु तथा सार्वभौम राष्ट्रका रूपमा समानता र पारस्परिक मर्यादामा आधारित व्यवहारको अपेक्षा गर्नु कुनै अपराध नभएको उनको जिकिर छ। यो हरेक स्वाभिमानी नेपालीको गौरव र प्रमुख जिम्मेवारी भएको उनले औँल्याएका छन्। विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले समेत नेपालको हितविपरीत कुनै नीति अवलम्बन गर्छ भने त्यसको आलोचना हुनु स्वाभाविक रहेको उल्लेख गर्दै मल्लले कुनै पनि नीतिको विरोध गर्नु र सम्बन्धित राष्ट्रप्रति शत्रुता राख्नु दुई बिलकुलै भिन्न कुरा भएको प्रष्ट पारेका छन्। लोकतन्त्रमा प्रश्न उठाउनु विरोधका लागि विरोध नभई राष्ट्रिय हितको पक्षमा उभिनु हो भन्ने उनको ठहर छ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको मित्रवत् सम्बन्ध आफ्नै विशिष्ट महत्त्व र गरिमा बोकेको विषय भएको बताउँदै नेता मल्लले मित्रता कायम राख्नु र आफ्नो राष्ट्रिय हितमा अडिग रहनु परस्पर विरोधी कुरा नभएको दोहोर्याएका छन्। अर्थमन्त्री वाग्लेलाई लक्षित गर्दै उनले ज्ञान र पदले कसैलाई पनि आलोचनाभन्दा माथि नराख्ने चेतावनी दिएका छन्। विशेषगरी मन्त्रीजस्ता जिम्मेवार व्यक्तिको अभिव्यक्ति केवल व्यक्तिगत विचार नहुने र त्यसले देशको कूटनीतिक दृष्टिकोणसमेत झल्काउने भएकाले त्यसमा उच्च परिपक्वता आवश्यक पर्ने उनको जोड छ। “आफूले बोलेको कुरा नै अन्तिम सत्य हो भन्ने आत्मविश्वासले कूटनीतिक परिपक्वताको स्थान लिन सक्दैन,” नेता मल्लले भनेका छन्।




प्रतिक्रिया दिनुहोस्