धनगढी : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मीन बोहोराले कर्मचारीहरूलाई सेवाग्राहीसँग पेस हुँदा दबाब वा हप्की-धप्की होइन, प्रेम, सद्भाव र संस्कारसहित प्रस्तुत हुन कडा निर्देशन दिएका छन्।
रुपन्देहीको तिलोत्तमामा आयोजित लुम्बिनी प्रदेश स्तरीय ‘बिजनेस ग्रोथ एण्ड लोन रिकभरी एक्जिलेंस तालिम’ को उद्घाटन गर्दै सीईओ बोहोराले संस्थाको सफलता कार्यालयको चार किल्लाभित्र मात्रै सीमित नभई समुदायसँगको आत्मीय सम्बन्धमा निर्भर हुने बताएका हुन्।
“कर्मचारीहरू नै संस्थाका वास्तविक परिचय हुन्,” सीईओ बोहोराले भने, “ऋण असुली वा सेवाग्राहीसँगको भेटघाटमा असहज वातावरण सिर्जना गर्ने होइन, उनीहरूको मानवीय अवस्था बुझेर सहजीकरण गर्ने संस्कारलाई हाम्रो कार्यशैलीको मुख्य हिस्सा बनाउनुपर्छ।” संस्थाप्रतिको जनविश्वासलाई थप मजबुत बनाउन कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी प्राथमिकतामा राखेर एकताबद्ध भई काम गर्न उनले आह्वान गरे।
कार्यक्रममा संस्थाका डीसीईओ दिनेश कटुवाल र लुम्बिनी प्रदेश प्रमुख लोमस भट्टराईले पनि मन्तव्य राखेका थिए। उनीहरूले सेवाग्राहीको समस्या ध्यानपूर्वक सुन्ने, सही परामर्श दिने र व्यावहारिक समाधान निकाल्ने वातावरण निर्माण गर्न कर्मचारीहरूको भूमिका अपरिहार्य रहेको औंल्याए।
संस्थागत विवरण र सहभागिता
कार्यक्रममा लुम्बिनी प्रदेशका २१ वटा शाखा, ३ वटा क्लस्टर हेड र २ जना रिकभरी म्यानेजरसहित कुल ७९ जना कर्मचारीहरूको सहभागिता रहेको थियो।
हाल नेरुडे मिर्मिरे लघुवित्तले लुम्बिनी प्रदेशमा ४५ वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ। यस प्रदेशमा संस्थाको कुल लगानी २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ५५ करोड रुपैयाँ बचत संकलन भएको छ। ६३ हजार ९ सय सदस्य आबद्ध यस संस्थामा १८ हजार २ सय ऋणी रहेका छन्। सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रदेशमा ४ वटा क्लस्टर र ३ जना असुली अधिकृतसहितको टिम क्रियाशील छ।
ऋण असुलीलाई दबाबमूलक बनाउनुको सट्टा मानवीय र व्यावसायिक परामर्शमुखी बनाउने उद्देश्यसहित आयोजित यो तालिमले कर्मचारीहरूको मनोबल उच्च राख्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।




प्रतिक्रिया दिनुहोस्