धनगढी : लामो समयदेखि निर्माणमा ढिलाइ हुँदै आएको डोटीको बुडर-जोरायल-गडसेरा सडक आयोजनालाई शीघ्र सम्पन्न गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी जिल्ला समितिले गरेको पहलपछि सम्बन्धित कार्यालयले प्रगति विवरण सार्वजनिक गरेको छ। पूर्वाधार विकास कार्यालय, डडेल्धुराले पत्रामार्फत आयोजनाको हालसम्मको अवस्था, प्रगति र भावी योजनाबारे जानकारी गराएको हो।
रास्वपा डोटी जिल्ला समितिले यसअघि २०८३ असार २६ गते सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आयोजना तत्काल पूरा गर्न माग गरेको थियो। सोही ध्यानाकर्षण पत्रको जवाफमा पूर्वाधार विकास कार्यालयले हालसम्म आयोजनाको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत पुगेको जनाएको छ।
कार्यालयका अनुसार सडक आयोजनाअन्तर्गत विभिन्न संरचना निर्माण, सडक कटिङ, नाली तथा सब-बेसको काम सम्पन्न भइसकेको छ। अब बेस, सडक कालोपत्रे र केही बाँकी संरचना निर्माणको कामलाई तीव्र बनाउँदै आगामी आर्थिक वर्षको असोज महिनाभित्र आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
ढिलाइ सुधारका लागि कडा कदम र अनुगमन
सडक निर्माणमा भएको ढिलाइलाई सम्बोधन गर्न निर्माण व्यवसायीलाई आवश्यक निर्देशन दिइएको छ। प्रदेश सचिवको उपस्थितिमा ‘म्यादोज्मेन्ट मिटिङ’ (Management Meeting) सम्पन्न गरिएको र निर्माण व्यवसायी शर्मा–राजेन्द्र जे.भी.का साझेदार कम्पनीहरूबीच साइटको नेतृत्व तथा आवश्यक सहकार्यबारे सहमति भएको कार्यालयले जनाएको छ। साथै, ढिलासुस्ती गर्ने जे.भी.को अग्रिम जमानतबापत ४ करोड २१ लाख २२ हजार रुपैयाँ जफत गरिएको छ भने नियमित प्राविधिक अनुगमनसमेत भइरहेको छ।
‘फाइलदेखि फिल्डसम्म’ को अभियान
रास्वपा डोटी जिल्ला समितिबाट प्रतिनिधित्व गर्दै सहसचिव तथा संगठन विभाग प्रमुख डिल्लीराज भट्टले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको पूर्वाधार विकासमा हुने ढिलाइबारे प्रश्न उठाउनु र त्यसको जवाफ तथा कार्यान्वयनको अवस्था पछ्याउनु राजनीतिक जिम्मेवारी भएको बताएका छन्। “फाइलमा प्रश्न उठाउने, जवाफ माग्ने र जवाफलाई फिल्डको परिणामसँग जोड्ने” भन्ने अवधारणासहित रास्वपा डोटीले अघि सारेको ‘फाइलदेखि फिल्डसम्म’ अभियानअन्तर्गत यस आयोजनालाई निरन्तर निगरानीमा राखिने उनले बताए।
पूर्वाधार विकास कार्यालयले पनि आयोजना समयमै सम्पन्न गरी स्थानीय नागरिकलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ। सरोकारवालाहरूको निरन्तरको दबाब र खबरदारीसँगै फाइलमा उठेका प्रश्नहरू अब फिल्डमा ठोस परिणामतर्फ अघि बढेका छन्।




प्रतिक्रिया दिनुहोस्