धनगढी : सुदूरपश्चिमको चर्चित डिजिटल न्युज संस्था ‘कल २४ न्युज मिडिया’ को आयोजनामा सञ्चालन हुने ‘कल २४ न्युज कप फुटसल प्रतियोगिता २०८३ सिजन २’ को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) मा यस क्षेत्रको शैक्षिक संस्था एसपिए कलेज जोडिएको छ। प्रतियोगितालाई अझै भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले एसपिए कलेजसँग मुख्य सहकार्य भएको आयोजकले जनाएको छ। खेलकुद क्षेत्रको प्रवर्द्धन र युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने लक्ष्यसहित आयोजित यस प्रतियोगिताका खेलहरू आगामी असोज २४ गतेबाट सुरु हुनेछन्। हिजो मात्रै पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको आधिकारिक खेल तालिका समेत सार्वजनिक गरिसकेको छ।
प्रतियोगितालाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन आकर्षक पुरस्कार तथा विधागत ट्रफीहरूको व्यवस्था गरिएको छ। प्रतियोगितामा पुरुषतर्फको विजेता टोलीले रु. ५०,०५५ र द्वितीय हुने टोलीले रु. ३०,०५५ प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फको प्रतिस्पर्धामा प्रथम हुने टोलीले रु. २२,२२२ र द्वितीय हुने टोलीले रु. ११,१११ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसबाहेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रोत्साहित गर्न उत्कृष्ट किपर, उत्कृष्ट स्कोरर र म्यान अफ द टुर्नामेन्ट लगायतका विधागत पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमहरूका लागि प्रवेश शुल्क पनि निर्धारण गरिएको छ। जसअनुसार पुरुष टिमका लागि प्रवेश शुल्क रु. ५,००० र महिला टिमका लागि रु. ३,००० तोकिएको छ। शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा सधैं अग्रपंक्तिमा रहँदै आएको एसपिए कलेजको मुख्य प्रायोजनमा हुन लागेको यस प्रतियोगिताले यस क्षेत्रका युवा खेलाडीहरूका लागि आफ्नो खेल कौशल प्रदर्शन गर्ने गतिलो मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।




प्रतिक्रिया दिनुहोस्