धनगढी : सुदूरपश्चिमको मुख्य स्वास्थ्य केन्द्र मानिने सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएका एक बिरामीका कुरुवाको पकेटबाट नगद २० हजार रुपैयाँ चोरी भएको छ। अस्पताल परिसरभित्रै दिनदहाडै चोरीका घटना बढेपछि बिरामीका कुरुवा तथा सेवाग्राहीहरू त्रसित बनेका छन्।
बैतडीको मेलौली नगरपालिका–९ का कल्याण सिंह बिष्टद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीमा दिइएको निवेदन अनुसार, उनका छोरा बिजु बिष्टलाई सर्खले टोकेपछि उपचारका लागि गत भदौ ३ गते बैतडीबाट एम्बुलेन्समा ल्याई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। छोरालाई बालरोग वार्डको बेड नम्बर १५ मा भर्ना गरी राखिएको अवस्थामा, गत भदौ ६ गते बिहान अन्दाजी १०:०० बजे औषधि ल्याउनका लागि अस्पतालको काउन्टर नम्बर १/२ मा लाइन बसेको बेला उक्त घटना घटेको हो।
लाइनमा बसिरहेको मौका छोपी एक अज्ञात व्यक्तिले कुरुवा कल्याण सिंहको ज्याकेटको पछाडिको गोजीमा रहेको २०,००० (बीस हजार) रुपैयाँ निकालेर भागेको निवेदनमा उल्लेख छ। घटनालगत्तै पीडितले अस्पतालको सीसीटीभी (CCTV) फुटेज हेर्दा चोर स्पष्ट रूपमा देखिएको भए पनि घटनाको केही समय बितिसक्दा पनि सम्बन्धित व्यक्ति अझै पत्ता लाग्न सकेको छैन।
सीसीटीभी क्यामेरामा बिहान १०:२२ देखि १०:३१ बजेको समयावधिभित्र उक्त चोरी गरेको दृश्य कैद भएको देखिएको छ। अस्पताल जस्तो संवेदनशील र भीडभाड हुने सार्वजनिक स्थलमा पनि सुरक्षा व्यवस्था फितलो हुँदा आम नागरिकले सास्ती व्यहोर्नु परेको पीडित पक्षको गुनासो छ।
पीडित बिष्टले सीसीटीभी फुटेजको आधारमा तत्काल खोजी गरी चोरलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन र आफ्नो खोसिएको रकम असुलउपर गराइदिन प्रहरीसमक्ष जोडदार माग गरेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीमा थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्