धनगढी : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकी २४ वर्षीया पुष्पा शाहीको खोजी प्रयास असफल भएपछि परिवारले हिन्दू संस्कार अनुसार काँसको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका छन्।
धनगढी घर भई एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखा (रसुवा) मा कार्यरत शाही बाढी आएकै दिनदेखि सम्पर्कविहीन भएकी थिइन्। बाढीले उनी कार्यरत लघुवित्तको शाखा कार्यालय पूर्ण रूपमा बगाएको थियो। घटनालगत्तै उद्धार टोली र परिवारले निरन्तर खोजी तथा उद्धारको प्रयास गरे पनि उनको शरीर वा कुनै पहिचान भेटिन सकेन।
लामो समयसम्म कुनै अत्तोपत्तो नभएपछि र शरीर प्राप्त हुने सम्भावना नरहेपछि परिवारले मानवीय संवेदना र धार्मिक परम्परा अनुसार काँसको प्रतीक बनाई कुशको शवका साथ अन्तिम संस्कार गर्ने निर्णय लिएका हुन्।
आफ्नो गहिरो पीडा व्यक्त गर्दै परिवारका सदस्यहरूले भनेका छन्, “अनगिन्ती प्रश्नहरूको जवाफ नपाएरै अन्ततः हजुरको अस्तित्वलाई सम्मानपूर्वक बिदाइ गर्दैछौँ। खोजीका सबै कोसिस असफल भएपछि पीडाकै बीच काँसको प्रतिमालाई प्रतीक मानेर अन्तिम संस्कार गर्न बाध्य भयौँ।”
शाहीको वैकुण्ठ वासको कामना गर्दै परिवार तथा आफन्तजनले शोक सन्तप्त वातावरणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।




प्रतिक्रिया दिनुहोस्