काठमाडौँ । बुधबार भोटेकोशीमा एक्कासि आएको महाप्रलयबाट बैंक तथा वित्तीय संस्था पनि अछुतो रहेनन् । बस्ती र ठूला ठूला भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु पनि बगे ।
बाढीका कारण रसुवा, टिमुरे, स्याफ्रुँबेसी, त्रिशूली बजार, ढुंगेबजार लगायतका ठाउँमा रहेका बैंकका शाखाहरुमा पूर्ण रुपमा क्षति भएको छ ।
रसुवा, टिमुरे, स्याफ्रुँबेसी, त्रिशूली बजार, ढुंगेबजारमा रहेका बैंकका शाखाहरुमा क्षति भएको छ ।
अझ दुखद् बैंक तथा वित्तीय संस्थाका शाखासँगै कर्मचारीहरु पनि बाढीमा हराएका छन् । केही बैंकका कर्मचारीहरु बुधबार नै सम्पर्कमा आइसकेका छन् भने केही अझै सम्पर्कविहीन छन् ।
कुन बैंकका कर्मचारी सम्पर्कविहीन ? को-को भेटिए ?
१. बाढीका कारण एनएमबि बैंकको टिमुरे शाखा डुबानमा परेको छ । यो समाचार तयार गर्दासम्म बाढीसँगै कर्मचारी हराएका छन् । हराएका सबैको फोन स्विच अफ छ । बैंकले आफ्ना कर्मचारीसँग नियमित सम्पर्कको प्रयास गरिरहेको छ । आशा गरौँ, उनीहरु छिट्टै भेटिनेछन् । र भन्नेछन्- ‘मोबाइलमा ब्याट्री सकिएर फोन अफ भएको हो, हामी सुरक्षित छौँ ।’
२. नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको टिमुरेस्थित शाखा नै बाढीले बगाएपछि कर्मचारीहरु पनि बाढीसँगै हराएका छन् । आफ्ना कर्मचारीहरु सम्पर्कमा नआएपछि बैंकले तत्काल हेलिकप्टर पठाएर कर्मचारीको सर्च गरिरहेको छ । बुधबार कर्मचारी अबेर रातीसम्म नभेटिएपछि बिहिबार पनि उनीहरुको खोजी कार्य जारी छ । बैंकका सूचना अधिकारी प्रमोद आचार्यका अनुसार उनीहरुलाई खोजी गर्न बिहीबार पनि प्रलयस्थलमा हेलिकप्टर पठाइँदैछ ।
३. माछापुच्छ्रे बैंकको शाखा पनि बाढीले बगाएको छ । कर्मचारीहरु पनि हराएका छन् । उनीहरुको खोजी कार्य जारी छ ।
४. कृषि विकास बैंकको शाखा डुबानमा परेको छ । बाढीसँगै हराएका बैंकका कर्मचारी सकुशल भेटिएका छन् । मानवीय क्षति भएको छैन ।
५. एनआईसी एशिया बैंक र हिमालयन बैंकका कर्मचारीहरुले भागेर ज्यान जोगाएका छन् । बाढी आएको संकेतपछि उनीहरु भागेर डाँडामा पुगेका थिए । बैंक डुबानमा परेको छ, बैंकभित्रको सम्पत्ति सबै ध्वस्त भएको छ । तर, मान्छे जोगिएका छन्, सन्तोष यसैमा छ ।
६. नबिल बैंकका सबै कर्मचारीहरु सम्पर्कमा आएका छन् । सबै सकुसल छन् । बैंकको शाखामा भने क्षति पुगेको छ ।
७. ग्लोबल आईएमई बैंक र हिमालयन बैंकका शाखा पनि बगेका छन् । प्रभु बैंकको शाखा पनि क्षतिग्रस्त बनेको छ । यी बैंकमा काम गर्ने केहि कर्मचारीहरु अझै सम्पर्कमा आएका छैनन् भने केहि सम्पर्कमा आईसकेका छन् । बैंकमा रहेको नगदसहित सबै सम्पत्ति भने बाढीले बगाएको छ ।
८. ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सका शाखा पनि बाढीले डुबाएको छ । यी बैंकका केही कर्मचारीहरु सम्पर्कविहीन छन् भने केही सम्पर्कमा आइसकेका छन् ।
आशा गरौँ, हराएकाहरु सकुशल भेटिनेछन् । जागिर कसैको रहर, कसैको बाध्यता थियो । प्रलयको यो संकटमा कसैको पनि केही गल्ती छैन । त्यसैले, आउनुहोस् सबैका लागि प्रार्थना गरौँ । भगवानसँग हराएकाहरु भेटिउन् भन्ने बर मागेर याचना गरौँ । मानव जीवन भन्दा ठुलो कुरा केही छैन । धन सम्पत्ति पैसा त पछि पनि जोड्न सकिएला, मान्छेको जीवनका लागि प्रार्थना गरौँ ।




प्रतिक्रिया दिनुहोस्