कैलाली घटना : डेढ लाखको ‘सुपारी’ दिएर श्रीमानको हत्या, शव टुक्रा पार्दै कर्णालीमा बगाइयो

धनगढी : कैलालीमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको घटनाबारे प्रहरीले विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पाँच जनालाई पक्राउ गर्दै अनुसन्धान अगाडि बढाइएको जनाएको छ । लम्कीचुहा नगरपालिका-४ का ३३ वर्षीय दीपक सुनारको हत्या आरोपमा उनकी श्रीमतीसहित पाँच जना पक्राउ परेको विवरण सार्वजनिक गरिएको हो ।

प्रहरी अनुसार दीपक गत साउन २२ गते बिहानदेखि जानकी गाउँपालिका-९ अमरावतीस्थित ससुरालीबाट बेपत्ता भएका थिए । श्रीमती यमुना सुनारले श्रीमान् हराएको भन्दै इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी गराएकी थिइन् ।

बेपत्ताको खोजी गर्ने क्रममा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदा हत्या भएको तथ्य खुलेको हो । प्रारम्भिक अनुसन्धानअनुसार यमुनाले आफ्ना प्रेमी लम्कीचुहा-१० का ४१ वर्षीय दुर्योधन सुवर्णकारसँग मिलेर दीपकको हत्या गर्ने योजना बनाएकी थिइन् ।

प्रहरी अनुसार यमुना र दुर्योधनले दीपकको हत्या गर्न डेढ लाख रुपैयाँमा अन्य व्यक्तिलाई ‘सुपारी’ दिएका थिए । योजनाअनुसार दीपकको अमरावती जङ्गलमा हत्या गरी मोटरसाइकलमा शव लगिएको र दुई टुक्रा पारेर कर्णाली नदीमा फालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले भदौ ९ गते कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुर्योधन सुवर्णकार, यमुना सुनार, टीकापुर-३ का ३२ वर्षीय रामराजेश महतो, कञ्चनपुरको बेलौरी-९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी-८ का ३२ वर्षीय बीमा राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले घटनाको प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जानकारी दिए । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टिकापुर र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोली खटिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार