धनगढी : कञ्चनपुरमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी बाबुको मृत्यु भएको छ। आफ्नै छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका ६० वर्षीय बाबुको उपचारका क्रममा ज्यान गएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत वेदकोट नगरपालिकाको कार्यालय नजिकै भएको सो दुर्घटनामा सिसैयाका गगनसिंह महराले चलाएको से३प ५२७४ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनका बुवा ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए। प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार घाइते वृद्धलाई तत्काल उपचारका लागि धनगढी ल्याइएको थियो।
धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा उनको प्राण गएको प्रहरीले पुष्टि गरेको छ। मृतक गौरसिंहको शव अहिले पोस्टमार्टम (परीक्षण) का लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।




प्रतिक्रिया दिनुहोस्