काठमाडौँ : ‘बझाङ्गी बाघ’ उपनामले परिचित नेपालका फाइटर रवीन्द्र ढाँटलाई शुक्रबार चीनको सांघाईस्थित अक्टागन (रिङ) मा न्युजिल्यान्डका कासिब मर्डोकसँगको भिडन्त सायद अहिलेसम्मकै सबैभन्दा कठिन प्रतिस्पर्धा हुनेछ । प्रो एमएमएमा यी दुवै ब्यान्टामवेट फाइटरको रेकर्ड उत्कृष्ट छ । ढाँटले १० खेल जितेर १ खेल हारेका छन् भने मर्डोकले अहिलेसम्म कुनै पनि खेल हारेका छैनन् ।
प्रतिष्ठित युएफसी सम्झौता पक्का गर्ने दौडमा रहेका यी दुईबीच अक्टागनभित्र हुने यो संघर्ष रोमाञ्चक रहने अपेक्षा गरिएको छ । अक्टागनबाहिर भने लडाइँ सुरु भइसकेको छ । मे २८ मा मकाउमा युनोसुके मिनामीलाई पराजित गरेलगत्तै मर्डोकले घोषणा गरेका थिए, ‘म नेपालका मिस्टर ढाँटसँग लड्दै छु । म यो लडाइँलाई लिएर वास्तवमै धेरै उत्साहित छु ।’ मर्डोक प्रतिस्पर्धीहरूलाई जिस्क्याउन माहिर छन् । तर, पछिल्ला महिनाहरूमा उनले ढाँटलाई लगातार जिस्क्याइरहेका छन् ।
गत ३ जुनमा मर्डोकले विगतमा आफूले भनेको कुरा सम्झिँदै सन् २०२४ मै आफूले चाङ्गु फाइट नाइटमा ढाँटलाई लड्न आग्रह गरेको बताएका थिए । ‘म यो लडाइँ दुई वर्षदेखि चाहिरहेको थिएँ । अगस्ट २८ मा ३ राउन्डभित्रै उसलाई हराएर उसको सबै चर्चा खोसिदिएपछि माफी माग्छु । र, इन्स्टाग्राममा फलो ब्याकको अपेक्षा गर्दछु ।’




प्रतिक्रिया दिनुहोस्