धनगढी । सुदूरपश्चिममा मुटु र मस्तिष्कसम्बन्धी जटिल उपचारका लागि महत्वपूर्ण मानिएको क्याथ ल्याब सेवा धनगढीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल, गेटामा सञ्चालनमा आउने भएको छ।
विश्वविद्यालयले अत्याधुनिक क्याथ ल्याब स्थापना गर्न २४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको जनाएको छ। उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशीका अनुसार खरिद प्रक्रिया एक साताभित्रै अघि बढाइनेछ।
विश्वविद्यालयले मुटु र मस्तिष्क दुवैको उपचार गर्न सक्ने अत्याधुनिक एआई प्रविधियुक्त क्याथ ल्याब सञ्चालन गर्ने तयारी गरेको छ। केही महिनाभित्रै सेवा सुरु गर्ने लक्ष्य राखिएको उपकुलपति जोशीले बताए।
हाल सुदूरपश्चिमका सरकारी अस्पतालमा क्याथ ल्याब नहुँदा जटिल मुटु तथा मस्तिष्कका बिरामी उपचारका लागि भारत वा अन्यत्र जानुपर्ने बाध्यता छ। समयमै उपचार नपाउँदा कतिपय बिरामीले ज्यानसमेत गुमाउने अवस्था रहेको बताइएको छ।
विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले गेटामा क्याथ ल्याब सञ्चालन भएपछि बिरामीले करिब ५० हजार रुपैयाँभित्रै उपचार सेवा पाउने बताए। उनका अनुसार सुदूरपश्चिममै अत्याधुनिक क्याथ ल्याब सञ्चालन गर्नु विश्वविद्यालयको प्रमुख प्राथमिकतामध्ये एक हो।
क्याथ ल्याब स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नगर प्रमुख गोपाल हमालले विश्वविद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन्।
यसैबीच, स्वास्थ्य विज्ञान विश्वविद्यालयले १७ विधामा अध्ययन–अध्यापन सञ्चालन गर्ने तयारी गरेको छ। चालु वर्ष भने चारवटा कार्यक्रमबाट शैक्षिक गतिविधि सुरु गर्ने तयारी रहेको रजिस्ट्रार चन्दले बताए।
विश्वविद्यालयमा क्लिनिकल शिक्षाका लागि ७७ जना फ्याकल्टी नियुक्तिको प्रक्रिया अघि बढाइएको छ। पूर्वाधार तथा भवन निर्माणको काम सम्पन्न भइसकेको र बेसिक साइन्सतर्फका प्रयोगशाला उपकरण खरिद प्रक्रिया पनि अघि बढाइएको छ।
शिक्षण अस्पतालमा ६११ शय्या व्यवस्थापन गर्ने तयारी गरिएको छ। चिकित्सा शिक्षा आयोगले भदौको तेस्रो साता अस्पताल तथा विश्वविद्यालयको निरीक्षण गर्ने कार्यक्रमसमेत तय भएको विश्वविद्यालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्