पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई राष्ट्रपति पदको लोभ नरहेको बताएका छन्।
आज गृह जिल्ला गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आफू कार्यकारी प्रधानमन्त्री भइसकेको मानिस रहेकोले राष्ट्रपति बन्ने लोभ नराखेको प्रतिक्रिया दिएका हुन्।
‘राजनीतिमा नयाँ पुस्ताको कुरा गर्दा र समर्थन गर्दा बाबुराम फेरि नयाँतिर लाग्यो, राष्ट्रपति हुन खोजेको हो भन्ने कुरो गर्छन्, अहिलेको प्रणालीमा राष्ट्रपति त खोपीको देउताजस्तो हो,’ भट्टराईले भने, ‘म त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने पक्षको मानिस हो।’
उनले राष्ट्रपति पदको लोभ आफूमा नरहेको बताए।
‘राष्ट्रपतिमा लोभ गर्ने कुरो पनि होइन। कार्यकारी प्रधानमन्त्री भइसकेको मानिले राष्ट्रपतिमा लोभ गर्ने कुरा हुँदैन। मैले त विचार दिने हो। मैले विचार दिएका आधारमा पद खोज्यो भन्छन् यसभन्दा माथि उठ्नुपर्यो,’ भट्टराईले भने।
विगतमा आफूले विचार दिएकै आधारमा कहिले मेयर हुन खोजेको, कहिले पुनर्निर्माण प्राधिकरण प्रमुख हुन खोजेको त कहिले बूढीगण्डकी आयोजना प्रमुख हुन खोजेको भन्दै आलोचना भएको उनले सम्झेका थिए।
‘कुनै पनि विषयमा विचार दिँदैमा त्यसबारे पद खोजेको हुँदैन भन्ने बुझ्नुपर्छ,’ उनले भने।




प्रतिक्रिया दिनुहोस्