कैलाली । सबै कम्युनिष्ट पार्टीहरूबीच एकताका लागि दबाव दिन भोलि धनगढीमा पुष्पलाल मित्रता केन्द्रले वृहत् कार्यक्रमको आयोजना गर्ने भएको छ ।
भोलि १२ बजे उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना हुने पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यक्रमको तीव्र तयारी भइरहेको उनले बताए ।
‘वामपन्थी पार्टीहरूको एकता आजको आवश्यकता हो,’ उनले भने, ‘आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम र कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि पनि आजको आवश्यकताबारे बहस हुने छ ।’
नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेकपा र एमालेसहितका दलका नेताहरूले ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयमा विचार गोष्ठीमा सहभागी हुनेछन् ।
मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडा, नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, राष्ट्रिय जनमोर्चाका नन्दराज भट्ट, नेकपा संयुक्तका नेता उर्वादत्त पन्त लगायतले सम्बोधन गर्ने मित्रता केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर शाहले जानकारी दिए ।
पत्रकार अर्जुन शाह वामपन्थी दलहरूको भूमिका र आवश्यकताबारे टिप्पणी गर्ने छन् ।
साउन ८ गते काठमाडौंबाट सुरु भएको विचार गोष्ठी २७ गते पोखरामा सम्पन्न गर्ने तयारी भइरहेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उपस्थितिमा काठमाडौंमा देशभर नेकपा र एमालेबीच सहकार्यको वातावरण बनाएको नेताहरूको दाबी छ ।
साउन ३० गते कर्णालीमा देव गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । भोलि धनगढीमा कार्यक्रम हुने भएको छ भने १३ गते जनकपुरमा माधवकुमार नेपाल र १६ गते इटहरीमा राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने जनाइएको छ । २७ गते पोखरामा कार्यक्रम सम्पन्न हुनेछ ।
‘हाम्रो अभियानले वामपन्थीहरूको एकताको माहोल बन्ने देखिन्छ,’ केन्द्रीय अध्यक्ष खतिवडाले भने, ‘पहिले मिल्न सक्ने ठाउँमा मिल्नुपर्छ । अन्तिममा पार्टी एकता नै हुनुपर्छ ।’




प्रतिक्रिया दिनुहोस्