देउवा प्रमुख अतिथि, गगन पक्षलाई टक्कर: कांग्रेस इतर पक्षको ‘राष्ट्रिय भेला’ आजदेखि सुरु

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको बहुप्रतीक्षित ‘राष्ट्रिय भेला’ आजदेखि राजधानीमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी भेन्युमा उद्घाटन हुने उक्त भेला साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।

झन्डै साढे पाँच महिनाको सिंगापुर र हङकङ बसाइपछि बिहीबार मात्रै स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर पक्षले यो भेला आयोजना गरेको हो।

विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चयन भएपछि पार्टीभित्र चर्किएको शक्ति संघर्षका बीच आयोजना गरिएको यस भेलालाई इतर पक्षले मुख्यगरी नीति बहस र आफ्नो शक्ति प्रदर्शनको अवसरका रूपमा अघि बढाएको देखिन्छ।

पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा हुने उक्त भेलामा इतर पक्षका प्रमुख नेताहरूलाई मञ्चमा उतार्ने तयारी छ। भेलामा विशिष्ट अतिथिहरू शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताहरू रहनेछन्। यस्तै, करिब ४ हजार ५ सय नेता–कार्यकर्ता सहभागी हुने प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्।

आयोजकका अनुसार कार्यक्रम स्थलमा करिब ५ हजार ५ सय कुर्सीको व्यवस्था गरिएको छ। उद्घाटन सत्रमा अतिथिका सम्बोधन तथा कार्यक्रमका दृश्य स्पष्ट रूपमा देख्न सकिने गरी मञ्चको अगाडि र पछाडि गरेर ६ वटा ठूला डिजिटल बोर्ड राखिएका छन्। साथै, दुई दिनसम्म सहभागी प्रतिनिधिहरूका लागि भोजनको समेत व्यवस्था गरिएको छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत साउन २१ गते पुनः सुनुवाइका लागि निस्सा दिएपछि भेलाको पूर्वघोषित स्वरूपमा केही परिवर्तन गरिएको इतर पक्षका नेताहरू बताउँछन्।

अब यो भेलालाई तत्काल कुनै औपचारिक वा कडा निर्णय लिने थलोभन्दा पनि नीति, संगठन र पार्टीभित्रको शक्ति सन्तुलनबारे व्यापक धारणा राख्ने र आफ्नो पक्षको प्रभाव देखाउने मञ्चका रूपमा उपयोग गर्ने तयारी आयोजकको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार