सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा

धनगढीः सेती प्रादेशिक अस्पतालमा २०७९ फागुनदेखि सञ्चालन हुँदै आएको विस्तारित अस्पताल सेवा तीन वर्षमै बन्द भएको छ। अस्पतालले गत चैतदेखि जनशक्ति अभावको कारण देखाउँदै सेवा स्थगित गरेको हो।

विस्तारित सेवा बन्द भएपछि साँझ ३ बजेपछि अस्पतालमा ओपीडी, प्रयोगशाला तथा शल्यक्रिया सेवा लिनबाट बिरामी वञ्चित भएका छन्। यसअघि आइतबारदेखि शुक्रबारसम्म दिउँसो ३ बजेपछि न्यून शुल्कमा उपचार सेवा उपलब्ध हुँदै आएको थियो।

अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य ड्युटी गर्नुपर्ने व्यवस्था गरेपछि विस्तारित सेवा सञ्चालन गर्न समस्या भएको बताए।

विस्तारित सेवाअन्तर्गत ओपीडी परामर्श शुल्क ४ सय रुपैयाँ तोकिएको थियो। प्रयोगशाला परीक्षण र शल्यक्रियाको शुल्कसमेत निजी स्वास्थ्य संस्थाको तुलनामा कम थियो। उपचारपछि आठ दिनभित्र पुनः परामर्श लिन आउँदा थप शुल्क नलाग्ने व्यवस्था पनि थियो।

सेवा बन्द भएपछि विशेषगरी टाढाबाट आउने तथा न्यून आय भएका बिरामी बढी प्रभावित भएका छन्। निजी अस्पताल तथा क्लिनिकमा सामान्य परामर्शकै लागि १ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था आएको बिरामीहरूको गुनासो छ।

अस्पताल व्यवस्थापन समितिले पनि जनशक्ति अभावकै कारण सेवा रोकिएको जनाएको छ। समितिका अध्यक्ष बलराम भट्टका अनुसार अस्पताल प्रशासनले आवश्यक जनशक्ति उपलब्ध नभएको जानकारी दिएपछि विस्तारित सेवा बन्द गरिएको हो।

तर, अस्पतालले जनशक्ति अभावलाई कारण देखाए पनि चिकित्सकहरूले निजी अस्पताल तथा क्लिनिकमा भने सेवा दिइरहेको भन्दै प्रश्न उठ्न थालेको छ। यसले सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको सेवा किन निरन्तरता दिन सकिएन भन्ने विषयमा थप बहस सिर्जना गरेको छ।

बैतडीको पुर्चौडीबाट उपचारका लागि सेती अस्पताल पुगेका परमानन्द पन्तले यसअघि सस्तोमा उपचार पाएको भए पनि यसपटक विस्तारित सेवा बन्द हुँदा अन्यत्र महँगो उपचार गर्नुपरेको बताए। उनले सर्वसाधारणलाई सहज हुने सेवा तत्काल पुनः सञ्चालन गर्न माग गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार