नेता फकाउने नयाँ रणनीति बनाउदै एमाले अध्यक्ष ओली

काठमाडौं । एमाले पुनर्गठन गर्न बनाएको कार्यदलको प्रतिवेदन आफुअनुकूल प्रतिवेदन नआएपछि संकटमा परेका अध्यक्ष केपी शर्मा ओली नयाँ चालमा लागेका छन् । एमालेमा आफूमाथी भइरहेको घेराबन्दीलाई अलमल गराउन प्रदेश सरकारमा किचलो सुरुवात गराएको एमालेका एक नेताले बताए ।

ती नेताका अनुसार सबै प्रदेशमा किचलो गराएर सबै नेतालाई ‘इंगेज’ गराउने र नयाँ रणनीति बनाउने तयारीमा ओली लागेका छन् । प्रदेशमा आफूअनुकूलको मुख्यमन्त्री र मन्त्री बनाउने र कार्यकर्तालाई आसन्न स्थानीय र प्रदेश निर्वाचनमा टिकट दिएर फकाउने कार्य गरिरहेको एमालेका ती नेताले बताए ।


अध्यक्ष ओलीले विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद् अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई समेत ‘होल्ड’ गरेका छन्। नेतृत्व पुनर्गठनबारे अध्यक्ष र महासचिवबीच मतभेद भएपछि निर्वाचन समीक्षा प्रतिवेदन थाती राखिएको बताइएको छ।


एमालेले गत फागुनको चुनावी समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गत १० जेठमा कार्यदल गठन गरेको थियो। त्यसको प्रतिवेदन लेख्ने जिम्मा महासचिव पोखरेलले पाएका थिए। पोखरेलले लेखेको कतीरिब एक सय पृष्ठको प्रतिवेदनमा नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद् अधिवेशनको विकल्प अघि सारिएको थियो। त्यसमा ओलीको गम्भीर असहमति रहेको एक पदाधिकारीले बताए।

महासचिव पोखरेलले तयार गरेको प्रतिवेदनमा ‘सरकारको काम र क्रियाकलापका कारण आजको संकट उत्पन्न भएकाले पार्टीको मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ’ उल्लेख गरिएको ती पदाधिकारीले बताए। प्रदेश र काठमाडौंमा गरी ११ वटा भेलाबाट प्राप्त सुझाव प्रतिवेदनमा समेटिएको उनको भनाइ छ।

ती पदाधिकारीका अनुसार महासचिवले लेखेको प्रतिवेदनलाई व्यापक संशोधन गर्ने पक्षमा ओली छन्। पार्टी पराजय हुनुमा पार्टी नेतृत्वको हैसियतले आफू जिम्मेवार नभएको ओलीले दाबी गर्दै आएका छन्। प्रतिवेदन महासचिव पोखरेलले कार्यदल संयोजक थापालाई बुझाएका थिए। त्यसपछि थापाबाट अध्यक्ष ओलीकहाँ पुगेको एक पदाधिकारीको भनाइ छ। भदौ पहिलो साता सचिवालय र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ।

उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, महासचिव पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताले जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गर्दै आएका छन्। मंसिर २०८२ मा भएको ११ औं महाधिवेशनबाट आफू निर्वाचित भएकाले अरूले माग गर्दैमा नेतृत्व नछाड्ने अडानमा ओली छन्

। महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीमा ओलीकै बहुमत भएकाले उनी त्यही कमिटीको निर्णयअनुसार अघि बढ्ने तयारीमा छन्। पछिल्लो समय पार्टीमा युवा पुस्ताको आकर्षण घट्दै गइरहेकाले नेताको ‘कार्यकाल र उमेर हद पुनःस्थापना’ जरुरी रहेको पनि पोखरेलले प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘विधान संशोधन गरी उमेर हद र कार्यकालको व्यवस्था गर्नु आवश्यक छ,’ महासचिव पोखरेलको मत छ।

नेताको कति कार्यकाल नेतृत्वमा रहने र उमेर हद कति तोक्ने विधानमै राखियो भने युवा आफ्नो भविष्य हेरेर पार्टीमा जोडिने पोखरेलले निकट नेताहरूसँग भन्ने गरेका छन्। ‘त्यसैले कार्यकाल र उमेर हदको व्यवस्था विधानमै गर्नुपर्छ,’ उनको भनाइ छ। एमालेमा युवालाई नेतृत्वमा ल्याउन र एउटै व्यक्तिले पटक–पटक अवसर लिँदा असन्तुष्टि बढेकाले ‘एक व्यक्ति, एक पद’ व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा गरिएको छ। अवसरको न्यायपूर्ण वितरणका लागि एक व्यक्ति, एक पद आवश्यक भएको महासचिव पोखरेलको निष्कर्ष छ।

एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी प्रधानमन्त्री, मन्त्री, सांसद, स्थानीय तहको प्रमुख हुन नपाउने, समानुपातिक सांसद पनि दोहोरिएर हुन नपाउने सुझाव प्रदेशहरूबाट आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। पोखरेलले एमालेमा तीन पुस्तालाई संयोजन गर्ने नीति अघि सारी विधि बनाउनुपर्ने उल्लेख गरेका छन्। पार्टी नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणाली स्थापित गर्ने गरी विधान संशोधन गर्नुपर्ने उनको सुझाव छ।

पार्टी नीति र पुनर्गठनका लागि विधान महाधिवेशन वा प्रतिनिधि परिषद् अधिवेशन नै विकल्प रहेको केन्द्रीय सदस्य पदम गिरीले बताए। ‘देशभरबाट पार्टी नीति, नेतृत्व र संगठन पुनर्गठनका लागि सुझाव आएको छ। त्यसका लागि विधान महाधिवेशन वा नेतृत्व पुनर्गठनका लागि आवश्यक निर्णय गर्न महाधिवेशन प्रतिनिधि परिषद् अधिवेशन गर्नु आवश्यक हुन्छ,’ उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार