काठमाडौँ- प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागे पनि सरकारले अपेक्षित काम गर्न नसकेको बताएका छन्। युवा दिवसको अवसरमा शुभकामना दिँदै आङ्देम्बेले सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलले गरे पनि हालसम्म काम नभएको बताएका छन्।
‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो? उनीहरुले चाहेको सुशासन कहाँ छ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ? जबकि, चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलकै नेतृत्वले गरेका थिए, जुन कुरा युवाजनले बिर्सिएका छैनन्। तर, सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर प्रश्न हो।’
उनले भनेका छन्,‘यसले युवा फेरि बिस्तारै निराशातिर फर्किएको महसुस हुन थालेको छ। त्यसका केही ज्वलन्त घटना देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाह हुन्।’ उनले युवालाई मतदान गर्ने जमात मात्रै नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताए।
‘विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमा परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’को ठोस नीति आवश्यक छ। तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्छ। ’ उनले भनेका छन्।




प्रतिक्रिया दिनुहोस्