काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश गठन भएको नौ वर्ष पूरा नहुँदै सात प्रदेशमा १४ जना मात्र मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेको र ३३ जना व्यक्ति मुख्यमन्त्री पदमा पुगिसकेको बताए ।
उनले प्रदेश सरकार गठन र विघटनको खेल सबैभन्दा बढी राज्यको उपस्थिति र स्थिरता आवश्यक रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको बताए ।
‘प्रदेश गठन भई सञ्चालनमा आएको ९ वर्ष पूरा नहुँदै ७ प्रदेशमा बढीमा १४ जना मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन र ३३ जना उक्त पदमा पुगिसक्नुभएको छ । यो अस्थिरताको सबैभन्दा निर्भम अभ्यास कहाँ भयो भने, जहाँ स्थिरता सबैभन्दा बढी खाँचो थियो-कर्णाली र सुदूरपश्चिममा,’ उनले भने ।
देशकै सबैभन्दा विपन्न र दुर्गम क्षेत्रका नागरिक आधारभूत आवश्यकता पूरा हुने अपेक्षामा रहे पनि प्रदेश नेतृत्व भने सत्ता समीकरण र कुर्सीको खेलमा केन्द्रित भएको उनको आरोप थियो ।
खनालले कर्णाली र सुदूरपश्चिमका नागरिकले अझै पनि आधारभूत सेवा, खाद्यान्न, स्वास्थ्य र शिक्षाका लागि संघर्ष गर्नुपरेको बताए । राज्यको उपस्थिति सबैभन्दा बढी आवश्यक रहेका यी प्रदेशमा सरकार परिवर्तन र सत्ता समीकरणको खेलले जनताको वास्तविक समस्या ओझेलमा परेको उनको भनाइ थियो ।
उनले हुम्लामा सुत्केरी हुन नसकेर आमाले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको, जुम्लाका बालबालिका हिउँदमा समेत एक जोर चप्पलको भरमा विद्यालय जानुपर्ने तथा कालिकोट र मुगुका गोदाममा चामल पुग्दा चाडपर्व नै सकिसक्ने अवस्था रहेको उल्लेख गरे ।
‘हुम्लामा सुत्केरी हुन नसकेर एउटी आमाले बाटोमै प्राण त्याग्छिन्, जुम्लाको बालक आज पनि हिउँदमा एक जोर चप्पलको भरमा विद्यालय जान्छ । कालिकोट र मुगुको गोदाममा चामल पुग्दा चाडपर्व सकिसकेको हुन्छ,’ उनले भने ।
कर्णालीका नागरिक यस्ता आधारभूत समस्यासँग जुधिरहेका बेला प्रदेशको राजधानी वीरेन्द्रनगरमा भने सत्ता जोगाउने र नयाँ समीकरण बनाउने खेल भइरहेको खनालले बताए ।
उनका अनुसार प्रदेश सरकारमा विश्वासको मत, फ्लोर क्रस, सांसद किनबेचको आरोप तथा सांसदहरूलाई होटलमा राखिनेजस्ता गतिविधिले राजनीतिक अस्थिरतालाई थप बढाएको छ ।
उनले भने, ‘तर कर्णालीको राजधानी वीरेन्द्रनगरमा भने अर्कै व्यथा चल्छ—विश्वासको मत, फ्लोर क्रस, सांसद किनबेचको आरोप, होटल–होटलमा सांसदको सुरक्षित बसाइँ । जनता चामल कुरेर बस्छन्, सांसदहरू समीकरण कुरेर बसिरहेका हुन्छन् ।’




प्रतिक्रिया दिनुहोस्