धनगढीः धनगढीमा केही कम्पनीले नियमित रूपमा ग्यास सिलिन्डर आपूर्ति नगर्दा निश्चित ब्रान्डका उपभोक्ताले समस्या भोग्नुपरेको छ। तर समग्र बजारमा ग्यासको अभाव नरहेको स्थानीय प्रशासनले स्पष्ट पारेको छ।
ग्यास अभाव भएको हल्ला बढेपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा सोमबार धनगढीका ग्यास डिलर तथा आधिकारिक बिक्रेताको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा केही कम्पनीको आपूर्ति प्रभावित भए पनि बजारमा समग्र रूपमा ग्यासको हाहाकार नरहेको पाइएको प्रशासनले जनाएको हो।
अनुगमनका क्रममा मनकामना र भेरी ग्यासले करिब एक सातादेखि बजारमा सिलिन्डर पठाएका छैनन्। त्यसका कारण यी ब्रान्ड प्रयोग गर्ने उपभोक्तालाई ग्यास पाउन कठिनाइ भएको पाइएको छ।
ग्यास अभावको हल्लापछि केही उपभोक्ता र होटल व्यवसायीले आवश्यकताभन्दा बढी सिलिन्डर जम्मा गर्न थालेको प्रशासनको भनाइ छ। यसरी ठूलो परिमाणमा सिलिन्डर सञ्चित गर्दा बजारमा कृत्रिम अभाव देखिन सक्ने भन्दै प्रशासनले सचेत गराएको छ।
अनुगमनका क्रममा ग्यास बिक्रेतालाई एक व्यक्तिलाई एकभन्दा बढी सिलिन्डर बिक्री नगर्न र ग्राहकको पहिचान गरेर मात्र सिलिन्डर उपलब्ध गराउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताए।
प्रशासनका अनुसार रेडियन्ट र शैपाल ग्यासको आपूर्ति भने नियमित छ। आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्दा डेरामा बस्ने विद्यार्थी तथा अन्य सर्वसाधारण उपभोक्ता ग्यासबाट वञ्चित हुन सक्ने भएकाले सबैलाई संयमित रूपमा खरिद गर्न आग्रह गरिएको छ।
बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा कालोबजारी गर्ने गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।




प्रतिक्रिया दिनुहोस्