काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी १५औँ महाधिवेशनलाई सर्वसमावेशी बनाउनुपर्नेमा जोड दिँदै आफू कुनै पनि प्रकारको धम्की वा दबाबबाट विचलित नहुने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
बैठकमा बोल्दै थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताए । ‘१५औँ महाधिवेशनमा सबैको सहभागिता हुनुपर्छ र यसका लागि वातावरण बनाउन म पूर्ण रूपमा सचेत छु,’ उनले भने ।
पार्टी विधानका सम्बन्धमा आफू स्पष्ट रहेको उल्लेख गर्दै थापाले विधानको मर्मअनुसार नै पार्टी अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने, ‘मलाई पार्टीको विधानका बारेमा राम्रो जानकारी छ र म यसको अक्षरशः पालनाको पक्षमा छु।’
सम्बोधनका क्रममा थापाले कडा शैलीमा आफूलाई कसैले डर देखाएर पछि हटाउन नसक्ने चुनौती समेत दिए । उनले भने, ‘म तर्साएर तर्सिन्न, थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्। म आफ्नो एजेन्डा र पार्टी सुधारको अभियानमा अडिग छु।’




प्रतिक्रिया दिनुहोस्