काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण सम्भव नभएको बताएका छन् ।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक कार्यक्रममा उनले प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ जानुपर्नेमा जोड दिए। मादक पदार्थ, लागुऔषध सेवन गरी सवारी चलाउने र तीव्र गति सडक दुर्घटनाका मुख्य कारण रहेको उनले बताए ।
काफ्लेले सडक सुरक्षा सुधारका लागि ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनुपर्ने बताए। ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ थियो ।
उनका अनुसार ट्राफिक प्रहरीले सामाजिक सञ्जालमार्फत हरेक साता २० देखि ३० लाख मानिससम्म सचेतनामूलक सामग्री पुर्याउँदै आएको छ भने मासिक तीनदेखि चार लाख मानिसलाई प्रत्यक्ष कार्यक्रममार्फत जोड्ने प्रयास भइरहेको छ ।
काफ्लेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पार्दै कारबाही गर्दा नागरिकसँग नम्र र सम्मानजनक व्यवहार गर्न निर्देशन दिएको बताए ।
उनका अनुसार नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिब ७५ जना गम्भीर घाइते हुने गरेका छन्। गत वर्षको तुलनामा दुर्घटनामा करिब २० प्रतिशत कमी आएको भए पनि हालको अवस्था सन्तोषजनक नरहेको उनले बताए ।




प्रतिक्रिया दिनुहोस्