बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा सुरु हुने

बाजुरा । सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि पूजा तथा मेला सुरु हुने भएको छ। मुख्य पूजा भने भदौ ११ गते हुने भए पनि दर्शनार्थीको चाप व्यवस्थापन गर्न नियमित पूजाको समय अगाडि सारिएको हो।

बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार एकै दिन ठूलो संख्यामा भक्तजन जम्मा हुँदा दर्शनमा कठिनाइ हुने भएकाले भदौ १ गतेदेखि नै पूजा सुरु गर्ने तयारी गरिएको छ। परम्पराअनुसार बडीमालिकामा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीमा मुख्य पूजा गरिन्छ।

गत वर्ष बडीमालिकाको दर्शन गर्न ४५ हजारभन्दा बढी भक्तजन पुगेका थिए। यस वर्ष पनि देशका विभिन्न भागसँगै भारतबाट समेत ठूलो संख्यामा तीर्थालु आउने अनुमान गरिएको छ। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली बडीमालिका जाने परम्परा समेत रहँदै आएको छ।

बडीमालिकाको धार्मिक महत्वसँगै पर्यटकीय आकर्षण बढ्दै गएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढिरहेको स्थानीय बताउँछन्। नेपाली सेनाले करिब दुई करोड रुपैयाँ खर्चेर प्यागोडा शैलीमा निर्माण गरेको नयाँ मन्दिरले समेत क्षेत्रको आकर्षण थपेको छ।

यसैबीच, मेला सुरु हुनुअघि बडीमालिका क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन टेलिकम टावर निर्माणको काम भइरहेको छ। बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काका अनुसार लगातारको वर्षाका कारण निर्माणमा केही कठिनाइ भए पनि टावर जडानको काम अघि बढिरहेको छ। उनका अनुसार यस वर्ष करिब ४५ हजार भक्तजनले बडीमालिकाको दर्शन गर्ने अनुमान गरिएको छ।

समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका कारण पनि चर्चित छ। त्रिवेणी, २२ पाटन, खेतीबेती, विष्णुपानी र धर्मद्वार यहाँका प्रमुख आकर्षण हुन्।

हरियाली पाटन, हिमाली दृश्य तथा डाँफे, मुनाल र कस्तुरीजस्ता वन्यजन्तुका कारण बडीमालिका पर्यटकको रोजाइमा समेत पर्न थालेको छ। धार्मिक विश्वासअनुसार बडीमालिका माताको दर्शन गरेमा मनोकामना पूरा हुने, रोग निको हुने र पुत्र प्राप्ति हुने जनविश्वास छ।

मेलालाई लक्षित गर्दै नेपाली सेनाले दर्शनार्थी तथा पर्यटकका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारीसमेत गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार