दशकौं लामो संघर्ष र बलिदानबाट निर्मित समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित यस संविधानको रक्षा र सुदृढीकरण गर्ने दायित्व पनि हाम्रै हो।
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको बताएका छन्। विश्व आदिवासी दिवसको शुभकामना दिँदै उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति रहेको बताएका हुन्।
‘आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्ने यस दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’ उनले भने, ‘नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामी बीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकतले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउने छ।’
उनले हामी बीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकतले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउने उल्लेख गरे। ओलीले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन आह्वानसमेत गरे। ओलीले भनेका छन्, ‘हाम्रो संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ। यस समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन सबैमा आह्वान गर्दछु।’
ओलीले आज आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानलाई संयुक्त राष्ट्रसंघले लिपिबद्ध गरेको ऐतिहासिक दिन भएको बताएका छन्। उनले भने, ‘हाम्रो देश जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त देश हो। हामीले यस विविधतालाई राष्ट्रिय सौन्दर्यका रूपमा आत्मसात् गर्दै आएका छौं। यस बहुसांस्कृतिक विशेषतालाई भिन्नताका रूपमा नभई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्दै लैजानु पर्दछ। सदियौंदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई हामीले अझ प्रगाढ बनाउनु पर्दछ। यहाँको जल, जंगल, जमीन र प्रकृतिको संरक्षणमा आदिवासी समुदायको परम्परागत योगदान छ। यहाँका मौलिक भाषा, भेषभूषा, रीतिरिवाज र लोक संस्कृति नेपालका अमूल्य साझा सम्पदा हुन्।’
नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख प्राप्त गर्ने बाटो खुल्ने उनको तर्क छ। उनले भने, ‘हामीले सबै समुदायको समान अधिकार सुनिश्चित गर्दै राज्यका हरेक अंगहरूमा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गर्ने संवैधानिक व्यवस्था स्थापना गरी त्यसको कार्यान्वयन गर्दै आएका छौं। दशकौं लामो संघर्ष र बलिदानबाट निर्मित समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित यस संविधानको रक्षा र सुदृढीकरण गर्ने दायित्व पनि हाम्रै हो। यहाँका सम्पूर्ण समुदायको सहभागितामा देशलाई समृद्ध बनाउन हामीले सफलता प्राप्त गर्दै आएका पनि थियौँ। नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख प्राप्त गर्ने बाटो खुल्छ। राष्ट्रको यस गन्तव्यमा केही समय अल्झन आए पनि लामो समय यस्तो अवस्था रहन सक्दैन। त्यसका लागि हामी सबैको जागरूकता र साझा प्रयास अवश्यक छ।’





प्रतिक्रिया दिनुहोस्