बर्दिया बस दुर्घटनामा घाइते कञ्चनपुरकी भट्ट दिदीबहिनीलाई न्याय दिलाउन सांसद संग्रौलाको माग

कञ्चनपुर: श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौलाले बर्दियामा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका दुई दिदीबहिनीको उपचार, क्षतिपूर्ति र न्यायको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले प्रतिनिधिसभामा बोल्दै दुर्घटना भएको तीन महिना बितिसक्दा पनि पीडित परिवारले पर्याप्त सहयोग नपाएको भन्दै तत्काल आवश्यक पहल गर्न सरकारसँग आग्रह गरिन्।

गत वैशाख २८ गते काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको खप्तड मालिका यातायात प्रालिको ना.८ ख १९४९ नम्बरको बस बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत चिसापानी नजिक दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा डडेलधुराको भागेश्वर गाउँपालिका–४ निवासी दिदीबहिनी उर्मिला भट्ट र नीलम ओझा भट्ट गम्भीर घाइते भएका थिए।

महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसमा स्नातक चौथो वर्ष अध्ययनरत २२ वर्षीया उर्मिलाको दुवै हात र टाउकोमा गम्भीर चोट लागेको छ। उनी हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत छिन्। उनकी दिदी ३३ वर्षीया नीलम ओझा भट्टको हातमा गम्भीर चोट लागेको छ भने उनको उपचार काठमाडौंको नेसनल अस्पतालमा भइरहेको छ।

सांसद संग्रौलाका अनुसार बिमा कम्पनीले हालसम्म उपचार खर्चबापत तीन लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ। पछिल्लो एक महिनादेखि बस व्यवसायी र बिमा कम्पनीका प्रतिनिधि सम्पर्कविहीन हुँदा उपचारलाई निरन्तरता दिन परिवार आर्थिक संकटमा परेको उनले बताइन्।

उनले सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा उपचारमा कुनै अवरोध आउन नदिन आवश्यक व्यवस्था गर्न माग गरिन्।

यसैबीच, साउन १५ गते जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरूले पनि घाइते दिदीबहिनीको उपचार र न्यायको माग गर्दै आन्दोलन गरेका थिए। उनीहरूले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै उपचारको सम्पूर्ण खर्च, उचित क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाहीको माग गरेका थिए।

विद्यार्थीहरूको दाबीअनुसार बसको अगाडिको चक्का निस्किएपछि दुर्घटना भएको हो, जसले सवारीसाधनको नियमित मर्मतसम्भारमा गम्भीर लापरबाही भएको संकेत गर्छ। उनीहरूका अनुसार दुवै दिदीबहिनीको उपचारमा हालसम्म करिब ५० देखि ६० लाख रुपैयाँ खर्च भइसकेको छ भने थप ४० देखि ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। आर्थिक अभावका कारण उपचार प्रभावित हुने अवस्था सिर्जना भएको भन्दै उनीहरूले अस्पताल, यातायात कम्पनी र बिमा कम्पनीले उपचार खर्चको पूर्ण जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।

माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनीसमेत विद्यार्थीहरूले दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार