बाजुरा: बाजुरामा जंगली विषालु च्याउ सेवन गर्दा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्।
जिल्लाको बडिमालिका नगरपालिका–७, धम्कनका ५१ वर्षीय रामे थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनी र उनकी ५० वर्षीया श्रीमती नाम्सरी थापाले घरमा जंगली च्याउ पकाएर खाएपछि अचानक स्वास्थ्य अवस्था बिग्रिएको थियो।
दुवैलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो। अस्पतालमा राति १०:२० बजे पुर्याइएका रामे थापालाई चिकित्सकले परीक्षणपछि राति १०:४० बजे मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार नाम्सरी थापाको अवस्था गम्भीर रहेकाले अस्पतालमै उपचार भइरहेको छ। मृतकको शव जिल्ला अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको छ। मृतकका छोरा गेवा दोर्जे थापा पनि अस्पतालमै रहेका छन्।




प्रतिक्रिया दिनुहोस्