दुर्गौली (कैलाली): जानकी गाउँपालिकाले बजार क्षेत्र र मुख्य सडकमा सडकबत्ती जडान गर्दै विकासको सन्देश दिन खोजेको छ। तर गाउँका भित्री बस्तीमा बस्ने स्थानीयवासीका लागि विकासको अनुभूति भने अझै पनि अधुरै छ। बजार क्षेत्र उज्यालो भए पनि ग्रामीण सडक, नाला र आधारभूत पूर्वाधारको अवस्था वर्षौंदेखि उस्तै रहेको उनीहरूको गुनासो छ।
पालिकाको केन्द्र तथा दुर्गौली बजार क्षेत्रमा सडकबत्ती जडान, सौन्दर्यीकरण र अन्य देखिने योजनामा प्राथमिकता दिइएको देखिए पनि ग्रामीण क्षेत्रका सडकहरू भने अझै स्तरोन्नतिको प्रतीक्षामा छन्। कतिपय सडकमा सामान्य ग्राभेलसमेत नपुग्दा वर्षायाममा हिलो र खाल्डाखुल्डीका कारण सर्वसाधारणले सास्ती भोगिरहेका छन्।
विशेषगरी जानकी गाउँपालिका–७ अन्तर्गत लट्कनिया भुल टोलदेखि विलासपुर जोड्ने सडक वर्षा लागेसँगै हिलाम्मे हुने गरेको स्थानीय बताउँछन्। सडक बिग्रिएका कारण सवारी साधन सञ्चालनमा कठिनाइ हुनुका साथै विद्यार्थी, बिरामी र दैनिक यात्रुहरू जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
स्थानीयवासी चक्र भुलका अनुसार चुनावअघि सडक निर्माण र विकासका आश्वासन दिने नेताहरू निर्वाचित भएपछि गाउँ फर्केर समस्याको अवस्था हेर्नसमेत नआउने गरेका छन्।
“चुनावताका सबैले सडक बनाउने र विकास गर्ने वाचा गर्छन्। तर जितेपछि यही बाटो भएर फर्केर हिँड्नसमेत आउँदैनन्,” उनले भने। “हामीलाई ठूलो विकास चाहिएको होइन, कम्तीमा सडकमा ग्राभेल हालेर सहज रूपमा हिँडडुल गर्न मिल्ने अवस्था बनाइदिए पुग्छ।”
स्थानीयवासीहरूका अनुसार पालिकाले विकासका प्राथमिकता निर्धारण गर्दा आधारभूत आवश्यकता भन्दा प्रचारमुखी योजनामा बढी ध्यान दिएको देखिन्छ। सडक, नाला र ग्रामीण पूर्वाधार सुधारमा पर्याप्त लगानी नहुँदा विकासको प्रत्यक्ष अनुभूति गाउँसम्म पुग्न नसकेको उनीहरूको भनाइ छ।
यो समस्या एउटा सडकमा मात्र सीमित छैन। जानकी गाउँपालिकाका विभिन्न वडाका ग्रामीण सडक अझै पनि स्तरोन्नतिको पर्खाइमा छन्। विकास बजेट खर्च भएको दाबी गरिए पनि त्यसको प्रतिफल नागरिकले महसुस गर्न नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
यता गाउँपालिका अध्यक्ष गणेश चौधरीले ग्रामीण सडकको अवस्थाबारे आफूहरू जानकार रहेको बताए। उनले चालु आर्थिक वर्षभित्र आवश्यक बजेट व्यवस्थापन गरी प्राथमिकताका आधारमा सडक सुधारको काम अघि बढाइने प्रतिबद्धता जनाए।
तर स्थानीयवासीको प्रश्न अझै पनि उस्तै छ—यदि विकासका लागि बजेट खर्च भइसकेको हो भने गाउँका सडक किन अझै पनि हिलाम्मे र जीर्ण छन्?
उनीहरूका अनुसार विकासको मूल्याङ्कन सडकबत्ती, प्रचार सामग्री वा आकर्षक नाराले होइन, नागरिकको दैनिकी सहज बनाउने पूर्वाधारले हुनुपर्छ। जबसम्म ग्रामीण सडक, नाला र अन्य आधारभूत संरचनाको सुधार हुँदैन, तबसम्म विकासका दाबीले जनविश्वास जित्न नसक्ने स्थानीयको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्