तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन

महेन्द्रनगर — निर्माण सुरु भएको झन्डै एक दशक बितिसक्दा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। भौगोलिक कठिनाइभन्दा बढी निर्माण व्यवसायीको लापरबाहीका कारण आयोजना लम्बिएको कार्यालयको दाबी छ।

तीस महिनाभित्र काम सक्ने गरी २०७३ सालमा तीनवटा प्याकेजमा ठेक्का सम्झौता भएको उक्त सडक पटक–पटक म्याद थप्दा पनि पूरा हुन नसकेको हो।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार सडकको पहिलो र अन्तिम खण्डको काम सम्पन्न भए पनि बीचको प्याकेज भने अझै अलपत्र छ। डोकेबजार–बेलौरी २० किलोमिटर सडक हस्तान्तरणको प्रक्रियामा रहेको छ भने बेल्डाडी–दैजी २४ किलोमिटर खण्डको काम सकिएर त्रुटि दायित्व अवधिमा पुगेको छ।

उनका अनुसार बेलौरी–बेल्डाडीसम्मको करिब ११ किलोमिटर सडक निर्माण गरेको कम्पनीले काममा ढिलाइ गरेपछि ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रियामा लैजान लागिएको छ। यसअघि उक्त प्याकेज ४१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो भने निर्माण कम्पनीले २८ करोड रुपैयाँ भुक्तानीसमेत लिइसकेको छ।

कार्यालय प्रमुख लामिछानेले निर्माण व्यवसायीले पेटी ठेकेदारमार्फत काम गराउने र समयमै भुक्तानी नगर्ने जस्ता कारणले आयोजना वर्षौंसम्म अल्झिएको बताए।

यस्तै, बेलौरी–बेल्डाडी खण्डमा सीमा विवादका कारण भारतसँग जोडिएको दशगजा क्षेत्रको करिब १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न समस्या भएको कार्यालयले जनाएको छ। उक्त भाग बाहेक अन्य क्षेत्रमा काम अघि बढाउने तयारी गरिएको छ।

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले सडक निर्माणका लागि पटक–पटक सरकारका उच्च निकायसम्म पहल गरे पनि परिणाम आउन नसकेको बताए। सडक नबन्दा वर्षायाममा स्थानीयले हिँडडुलमा समेत समस्या भोग्नुपरेको उनको भनाइ छ।

अब नयाँ ठेक्का प्रक्रिया सुरु गरी बाँकी काम समयमै सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ। दशक पुग्न लाग्दा पनि अधुरो रहेको हुलाकी सडकले स्थानीय विकास र आवागमनमा ठूलो असर पारेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार