धनगढी- धनगढी उपमहानगरपालिका-३ चटकपुर-राजघाट जोड्ने भित्री सडकखण्डमा सोमबार बिहान व्यस्त समयमै गुडिरहेको सवारी साधनमाथि बिजुलीको पोल खस्दा एक दम्पती घाइते भएका छन्।
बिहान साढे ७ बजेतिर ज्यामी कामका लागि घरबाट निस्किएका स्थानीय राजकुमार चौधरी र उनकी श्रीमती दुर्गा चौधरी चढेको म ७ प ९१२३ नम्बरको मोटरसाइकल र लहरै आइरहेको सुप प्र ०१ ००१ ह ७३ ९१ नम्बरको अटोमाथि अचानक बिजुलीको पोल ढलेको हो।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि बसेकी दुर्गा चौधरी गम्भीर घाइते भएकी छिन्। टाउकोमा गम्भीर चोट लागेकी उनको हाल धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल चलाइरहेका उनका श्रीमान् राजकुमारको खुट्टामा सामान्य चोट लागेको छ। पोल अटोमा अड्किएका कारण अटोमा सवार चार जना यात्रुहरू भने ठूलो दुर्घटनाबाट जोगिँदै सकुशल रहेका छन्।
घटनाबारे जानकारी दिँदै घाइते राजकुमार चौधरीले भने, “हामी दुवै श्रीमान्-श्रीमती बिहान खाना बोकेर राजमिस्त्रीको काममा जाँदै थियौँ। म अगाडि मोटरसाइकल चलाउँदै थिएँ, पछाडि अटो थियो। ठ्याक्कै बाटोमा पुग्दा एक्कासी पोल ढल्यो। पोल अटोमा अड्किँदा दुर्घटना ठूलो हुनबाट त जोगियो, तर श्रीमतीको टाउकोमा गम्भीर चोट लाग्यो र मेरो मोटरसाइकल कामै नलाग्ने गरी फुट्यो।” उनले विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण दुर्घटना भएको भन्दै उचित क्षतिपूर्तिको माग गरेका छन्।
सोही दुर्घटनामा परेकी अटो चालक भूमिका पौडेल (फौदार) ले राजघाटबाट चार जना यात्रु लिएर चटकपुरतर्फ जाँदै गर्दा ठ्याक्कै त्यही ठाउँमा आइपुग्दा एक्कासी पोल खसेको बताइन्। “भाग्यवश म र यात्रुहरूलाई चोट लागेन, तर अटोको हेडलाइट र माथिको भागमा क्षति पुगेको छ। पहिलेदेखि नै ढल्नै लागेको पोललाई बाँसले अड्याएर राखिएको रहेछ, यस्तो जोखिममा बेलैमा ध्यान नदिँदा दुर्घटना भयो” पौडेलले भनिन्।
उक्त सडकखण्डमा विगत डेढ-दुई वर्षदेखि जगदम्बा निर्माण सेवाले नाली तथा सडक विस्तारको काम गरिरहेको छ। नाली खन्ने क्रममा पोलको जग खलबलिएको र त्यसलाई सुरक्षित नगरिकनै छाडिएकाले दुर्घटना भएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। स्थानीय बासिन्दा योगेन्द्रबहादुर चन्दका अनुसार १४ मिटर चौडा सडक बनाउने भनिए पनि घटाएर १२-१३ मिटरमा काम भइरहेको र नालीभित्रका फोहोर नहटाई माथिबाट ढक्कन हालेर काम ढोग्याउने खेल भइरहेको छ। अर्की स्थानीय नीता चन्द शाहीले दुई साता अघि नै जोखिमबारे भिडियो बनाएर स्थानीय सरकारलाई खबरदारी गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन्।
घटनास्थल पुगेका धनगढी उपमहानगरपालिका-३ का वडा अध्यक्ष राजबहादुर ऐरले भने दुर्घटनाको मुख्य जिम्मेवार नेपाल विद्युत प्राधिकरण र निर्माण व्यवसायी रहेको बताएका छन्। वडा अध्यक्ष ऐरले भने, “नाली खन्ने क्रममै जोखिममा रहेका ३ वटा पोल १–डेढ फिट मात्रै भए पनि स्थानान्तरण गरिदिन हामीले विद्युत प्राधिकरणलाई पटक-पटक आग्रह गरेका थियौँ, तर प्राधिकरणले बजेट र अनुमतिको कुरा देखाउँदै पन्छिने काम मात्रै गर्यो। अर्कोतिर निर्माण व्यवसायीले पनि नाली खनेपछि माटो भरेर समयमै सुरक्षित नगरिदिँदा वर्षाको पानीले माटो खुकुलो भएर पोल ढल्न पुगेको हो।”
उनले दुवै निकायको समन्वय अभाव र लापरबाहीले गर्दा सर्वसाधारणले अकालमा ज्यान गुमाउने जोखिम बढेको बताउँदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। आक्रोशित स्थानीयबासीहरूले दोषीमाथि कारबाहीका साथै घाइतेको सम्पूर्ण उपचार खर्च र क्षतिको पूर्ति हुनुपर्ने माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्