धनगढी । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आगामी शैक्षिक सत्र २०८३/८४ देखि एमबीबीएससहित चार शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। आवश्यक जनशक्ति व्यवस्थापनदेखि शिक्षण अस्पताल, प्रयोगशाला, उपकरण र पूर्वाधार विस्तारसम्मका काम तीव्र गतिमा अघि बढाइएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले एमबीबीएस, बीएससी नर्सिङ, बीएससी मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (एमएलटी) र बी अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रेजल फाराम बुझाइसकेको छ। प्रस्तावअनुसार एमबीबीएसमा ५०, बीएससी नर्सिङमा ३०, बीएससी एमएलटीमा २० र बी अप्टोमेट्रीमा २० गरी कुल १२० विद्यार्थी भर्ना गर्ने तयारी गरिएको छ।
विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दका अनुसार चारवटै कार्यक्रम सञ्चालनका लागि आवश्यक शैक्षिक जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। यसका लागि ७७ जना प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक र लेक्चरर पदमा नियुक्ति प्रक्रिया अघि बढाइएको छ। १७ जना प्राध्यापक तथा सह–प्राध्यापकको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी पदहरूको नतिजा पनि केही दिनभित्र सार्वजनिक गरिने तयारी छ।
विश्वविद्यालयले शिक्षण अस्पतालको क्षमता विस्तारलाई पनि समानान्तर रूपमा अघि बढाएको छ। हाल ३०० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन भइरहेको छ भने नेपाली सेनाको धनगढी होल्डिङ सेन्टरमा रहेका प्रयोगविहीन ५०० शय्या विश्वविद्यालयको शिक्षण अस्पतालमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो प्रक्रिया पूरा भएपछि अस्पतालको क्षमता ८०० शय्यामा विस्तार हुनेछ।
रजिस्ट्रार चन्दका अनुसार शय्या हस्तान्तरणका लागि शिक्षा मन्त्रालयमार्फत रक्षा मन्त्रालयसँग आवश्यक समन्वय भइरहेको छ। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निरीक्षणअघि नै अस्पतालको क्षमता विस्तार तथा अन्य आवश्यक व्यवस्थापन पूरा गर्ने लक्ष्य राखिएको उनले बताए।
विश्वविद्यालयले आधारभूत विज्ञानतर्फ आवश्यक प्रयोगशाला, उपकरण तथा शैक्षिक सामग्री खरिद प्रक्रिया पनि अघि बढाएको छ। उपकरण खरिदका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको र विद्यार्थी भर्नाअघि नै प्रयोगशाला, पुस्तकालय, ई–पुस्तकालय, छात्रावास तथा फ्याकल्टी आवासको व्यवस्थापन गरिने योजना रहेको विश्वविद्यालयको भनाइ छ।
उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीका अनुसार शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक ओएण्डएम स्वीकृति प्राप्त भइसकेको छ। आयोगको सुपरीवेक्षणअघि नै आवश्यक फ्याकल्टी नियुक्ति, अस्पतालको तयारी तथा अन्य पूर्वाधार निर्माण सम्पन्न गरी २०८३/८४ देखि नियमित रूपमा अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य राखिएको उनले बताए।
यसैबीच, नेपाल सरकारको निर्णयअनुसार गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। अस्पताललाई औपचारिक रूपमा विश्वविद्यालय मातहत ल्याउन स्वतन्त्र विज्ञसहितको समिति गठन गरिएको छ। समितिको प्रतिवेदनपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अस्पताल विश्वविद्यालयअन्तर्गत सञ्चालनमा ल्याइने जनाइएको छ।
विश्वविद्यालयले चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, प्राविधिक तथा प्रशासनिक कर्मचारीको व्यवस्थापनसमेत अघि बढाएको छ। आवश्यक पदपूर्तिका लागि छिट्टै विज्ञापन प्रकाशित गर्ने तयारी रहेको विश्वविद्यालयले जनाएको छ।
उपकुलपति जोशीले सबै प्रक्रिया समयमै पूरा गरी आगामी शैक्षिक सत्रदेखि एमबीबीएससहित चारवटै कार्यक्रम सञ्चालनमा ल्याउने लक्ष्यअनुसार सम्बन्धित निकायहरूसँग समन्वय गर्दै काम भइरहेको बताए।




प्रतिक्रिया दिनुहोस्