धनगढी: कैलाली र कञ्चनपुरका केरा उत्पादकहरूले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन्। उत्पादकका अनुसार बगानबाट तोकिएको मूल्यमा बिक्री हुने केरा उपभोक्तासम्म पुग्दा अत्यधिक महँगो हुने गरेको छ।
केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै गुणस्तरअनुसार बगानबाट प्रतिदर्जन ६० देखि ६५ रुपैयाँमा बिक्री हुने केरा बजारमा अनियन्त्रित मूल्यमा बिक्री भइरहेको जनाएको हो। यसले उपभोक्तासँगै किसानसमेत प्रभावित भएकाले बजार व्यवस्थापनमा सरकारी हस्तक्षेप आवश्यक रहेको सङ्घको भनाइ छ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भारतबाट केराको बिरुवा तथा फल आयातमा रोक लगाउने सङ्घीय सरकारको निर्णयको स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनसँगै कालोबजारी, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धिमाथि कडा निगरानी गर्न आग्रह गरिएको छ। सङ्घले किसान र उपभोक्ता दुवैको हित सुरक्षित हुने गरी बजार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
यसैबीच, सङ्घले बगानबाट बिक्री हुने काँचो केराको सिफारिस मूल्य पनि सार्वजनिक गरेको छ। सार्वजनिक मूल्यअनुसार भदौदेखि असोज मसान्तसम्म प्रतिदर्जन ५५–६५ रुपैयाँ, कात्तिकदेखि मङ्सिर मसान्तसम्म ४५–५० रुपैयाँ तथा पुसदेखि माघ मसान्तसम्म ३०–३५ रुपैयाँ कायम गरिएको छ। फागुनदेखि साउनसम्मको मूल्य भने उत्पादन, माग र बजार अवस्थाको मूल्याङ्कनपछि आगामी संयुक्त बैठकबाट निर्धारण गरिने जनाइएको छ।
केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारुले किसान, व्यापारी र सरोकारवालालाई सिफारिस गरिएको बगान मूल्य कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे। यस्तै, केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष सुरेन्द्रकुमार चौधरीका अनुसार कैलालीमा करिब एक हजार ८५० हेक्टर र कञ्चनपुरमा करिब ६१० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ। कृषि गणना २०६८/६९ अनुसार सुदूरपश्चिम प्रदेशमा करिब दुई हजार ४०४ हेक्टर क्षेत्रफलमा केराखेती हुने गरेको र वार्षिक करिब ७२ हजार ४४९ मेट्रिक टन उत्पादन हुने तथ्याङ्क रहेको उनले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्