धनगढीः सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका गौरीफन्टाबाट एक वर्षमा एक अर्ब २९ करोड रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन्। तर निर्यातको ठूलो हिस्सा अझै पनि वनजन्य उत्पादन र कच्चा पदार्थमै केन्द्रित देखिएको छ।
कैलाली भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा गौरीफन्टा नाकाबाट १ अर्ब २९ करोड ७७ लाख रुपैयाँ बराबरका वस्तु बाहिरिएका छन्। ती वस्तुको निर्यातबाट १ करोड ८४ लाख ७१ हजार ७२३ रुपैयाँ राजस्व संकलन भएको छ।
निर्यात सूचीमा सबैभन्दा अगाडि रोजिन तथा रेजिन एसिड रहेको छ। यसको मात्रै ४४ करोड २७ लाख २८ हजार ५०० रुपैयाँ बराबरको निर्यात भएको छ। त्यसपछि २१ करोड ६६ लाख ७९ हजार ८४० रुपैयाँको कत्था, १६ करोड ९२ लाख २०० रुपैयाँको वनस्पतिजन्य रस तथा अर्क, १३ करोड एक लाख ५७ हजार ४४८ रुपैयाँको पिना र १२ करोड ७८ लाख ८४ हजार रुपैयाँको तरल कत्था निर्यात भएको छ।
यस्तै, टर्पेन्टाइन तेल, प्लाइउडमा प्रयोग हुने भिनियर सिट, खयर कत्था र खरी ढुंगालगायत वस्तु पनि निर्यात भएका छन्। तर यीमध्ये अधिकांश वस्तु प्राकृतिक स्रोतमा आधारित वा सामान्य प्रशोधनपछि निर्यात हुने भएकाले उच्च मूल्य थपिने औद्योगिक उत्पादनको हिस्सा न्यून रहेको देखिन्छ।
राजस्व संकलनमा भने सुधार
कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षमा ९ अर्ब ७१ करोड १५ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। लक्ष्यभन्दा कम भए पनि कार्यालयले ८ अर्ब ३९ करोड ८५ लाख ६० हजार रुपैयाँ राजस्व उठाएको छ, जुन लक्ष्यको ८६ दशमलव ४८ प्रतिशत हो।
अघिल्लो आर्थिक वर्षमा लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो। यस वर्ष लक्ष्य पूरा गर्ने दरमा करिब ८ दशमलव ८१ प्रतिशत बिन्दुको सुधार देखिएको छ।
इन्धन आयातले धानेको राजस्व
गौरीफन्टा नाकाबाट हुने राजस्व संकलनमा भने इन्धनको हिस्सा सबैभन्दा ठूलो छ। डिजेलबाट मात्रै ३ अर्ब ३८ करोड ६० लाख ७ हजार ३०९ रुपैयाँ राजस्व उठेको छ, जुन कुल राजस्वको ४० दशमलव ३२ प्रतिशत हो।
पेट्रोलबाट १ अर्ब ६५ करोड ७० लाख ५९ हजार ६२० रुपैयाँ राजस्व संकलन भएको छ। डिजेल र पेट्रोलबाट मात्रै कुल राजस्वको करिब ६० प्रतिशत हिस्सा आएको भन्सारको तथ्यांकले देखाएको छ।
यसका अतिरिक्त एलपी ग्यास, कागज तथा पेपरबोर्ड, खाद्य सामग्री, फुड सप्लिमेन्ट, बिटुमिन, तोरी, एभिएसन टर्बाइन फ्युललगायत वस्तुको आयातबाट पनि उल्लेख्य राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ।
तथ्यांकले गौरीफन्टा नाकाबाट व्यापारिक गतिविधि बढ्दै गए पनि सुदूरपश्चिमको निर्यात अझै सीमित वस्तु र प्राकृतिक स्रोतमा निर्भर रहेको देखाएको छ। मूल्य अभिवृद्धि गर्ने उद्योग विस्तार हुन सके निर्यातको दायरा थप फराकिलो हुने सम्भावना रहेको सरोकारवालाहरू बताउँछन्।




प्रतिक्रिया दिनुहोस्