कैलाली प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको सास्ती, पालो नपाएर ३–४ दिनसम्म कुर्नुपर्ने बाध्यता

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेपछि सेवा लिन आउने नागरिकले ३–४ दिनसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। दैनिक सयौँ सेवाग्राही कार्यालय पुग्ने गरे पनि सीमित क्षमताका कारण धेरैजना सेवा नपाई फर्किन बाध्य भइरहेका छन्।

बैंकिङ कारोबारदेखि विभिन्न सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुन थालेपछि पछिल्ला दिनमा कार्यालयमा सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको हो। जिल्लाका विभिन्न स्थानीय तहबाट आउने नागरिक एकै दिनमा काम सम्पन्न हुने अपेक्षासहित कार्यालय पुग्ने भए पनि पालो नपाउँदा पटक–पटक धाउनुपर्ने बाध्यता रहेको गुनासो गर्छन्।

अत्यधिक गर्मीका बीच साना बालबालिका बोकेर सेवा लिन आएका महिलासहित अन्य सेवाग्राही घण्टौँ लाइनमा बस्न बाध्य छन्। लामो प्रतीक्षा र सीमित सेवा क्षमताका कारण सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपरेको बताएका छन्।

कार्यालयका अनुसार दैनिक ५ सयभन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन्। तर हाल जनशक्ति र उपलब्ध स्रोतका आधारमा प्रतिदिन १ सय महिला र १ सय पुरुष गरी जम्मा २ सय जनालाई मात्र सेवा दिन सकिने अवस्था छ। यही कारण अधिकांश सेवाग्राहीले अर्को दिनको पालो कुर्नुपर्ने भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी खडानन्द खत्रीले सामाजिक सुरक्षा भत्तासम्बन्धी प्रक्रियाका कारण केही समयका लागि सेवाग्राहीको चाप बढेको बताए। उनका अनुसार यो अवस्था अस्थायी भएकाले केही सातापछि भीड घट्ने अपेक्षा गरिएको छ।

उनले भीड व्यवस्थापनका लागि टोकन प्रणाली लागू गरिएको र उपलब्ध जनशक्ति तथा मापदण्डअनुसार सेवा प्रवाह भइरहेको जानकारी दिए।

यद्यपि सेवाग्राहीहरूले दैनिक सेवा क्षमता विस्तार, थप जनशक्ति परिचालन र सेवा लिनेको संख्या बढाएर नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न प्रशासनसँग आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार