धनगढी — सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अघि बढेको छ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार सञ्चालनका लागि सहकार्य गर्ने सहमति बनेपछि नयाँ मुख्यमन्त्री चयन र मन्त्रालय बाँडफाँटको गृहकार्य तीव्र भएको हो।
दुई दलबीच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने भएको छ। पार्टीका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ।
नयाँ सरकार गठनको तयारीका लागि भट्टसहित दुवै दलका प्रदेश नेताहरू काठमाडौंमा छलफलमा जुटेका छन्। मन्त्रालयको जिम्मेवारी र मन्त्री चयनका विषय शीर्ष नेतृत्वसँगको परामर्शपछि टुंगो लगाइने बताइएको छ।
यसअघि एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। सत्ता साझेदार दलको समर्थन गुमेपछि प्रदेश सरकार संकटमा परेको र बजेट कार्यान्वयनसमेत प्रभावित बनेको अवस्थामा नयाँ राजनीतिक समीकरण बनेको हो।
खगराज भट्ट यसअघि पनि सुदूरपश्चिमको मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा चर्चामा थिए। २०७९ सालको निर्वाचनअघि उनलाई भावी मुख्यमन्त्रीका रूपमा अघि सारिए पनि निर्वाचनपछिको राजनीतिक समीकरण परिवर्तन हुँदा उनले अवसर पाउन सकेका थिएनन्।
निर्वाचनपछि एमाले नेतृत्वमा बनेको प्रदेश सरकारमा भट्ट केही समय विनाविभागीय मन्त्री बनेका थिए। तर सत्ता समीकरण फेरिएपछि उनको सरकारमा निरन्तरता रोकिएको थियो।
अहिले एमालेसँगको सहमतिले भट्टलाई प्रदेश सरकारको नेतृत्वमा पुग्ने बाटो खुलेको छ। दुई दलबीच मन्त्रालय बाँडफाँट टुंगिएपछि वर्तमान मुख्यमन्त्री शाहलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि सहयोग गर्न आग्रह गरिने नेताहरूले बताएका छन्।
संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता भएको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने हुन्छ। सोही प्रक्रियाअनुसार नयाँ सरकार गठनको तयारी भइरहेको छ।
५१ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमाले र नेपाल कम्युनिष्ट पार्टीसँग सरकार बनाउन आवश्यक बहुमत रहेको दाबी गरिएको छ। राजनीतिक समीकरणमा कुनै ठूलो परिवर्तन नभए प्रदेशले छिट्टै नयाँ मुख्यमन्त्री र मन्त्रिपरिषद् पाउने सम्भावना देखिएको छ।




प्रतिक्रिया दिनुहोस्