बारा। बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अरबिन्द साहविरुद्ध सामाजिक सञ्जालमार्फत विरोध जनाएका आरोपमा बारा निवासी निजामुद्दिन अन्सारी पक्राउ परेका छन्।
सांसद् साहले दिएको उजुरीका आधारमा अन्सारीलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार अन्सारीलाई प्रहरी हिरासतमा राखिएको छ र कसुरको प्रकृतिअनुसार विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा पेश गरी थप कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।
एसपी कुँवरका अनुसार सामाजिक सञ्जालमार्फत घृणा, द्वेष वा अफवाह फैलाउने गतिविधि विद्युतीय कारोबार ऐनले निषेध गरेको छ। “उजुरी प्राप्त भएपछि कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिइएको हो। अब अदालतबाट आवश्यक अनुमति लिएर थप अनुसन्धान अघि बढाइन्छ,” उनले भने।
अन्सारीले आफ्नो फेसबुक खातामार्फत सांसद् साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै विभिन्न स्टाटस सार्वजनिक गरेका थिए। तीमध्ये एक पोस्टमा उनले लेखेका थिए, “मेरो ओपन च्यालेन्ज छ। कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहलाई जुन ठाउँमा भेटिन्छ, त्यहीँ दल्ने हो। आफ्नो मेनिफेस्टोअनुसार १ प्रतिशत पनि काम नगरेको जनताले खुलासा गरिरहेका छन्।”
त्यस्तै अर्को पोस्टमा उनले सांसद् साहलाई लक्षित गर्दै लेखेका थिए, “बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहज्यू, तपाईं क्षेत्र अनुगमन गर्न आउनुभएको रहेछ भन्ने सुनेको छु। तपाईंले चुनावी घोषणापत्रअनुसार के काम गर्नुभयो? यदि गर्नुभएको छैन भने कालो मसी दलेर फेरि काठमाडौं पठाउनेछौँ। भरतचोकमा भेट्नुस्, म कालो मसी दल्नेछु। तपाईंलाई मेरो ओपन च्यालेन्ज छ।”
प्रहरीका अनुसार सांसद् साहले यिनै पोस्टलाई आधार बनाएर उजुरी दिएका थिए।
यता, अन्सारीका एक निकटस्थले भने उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरे पनि कुनै भौतिक विरोध कार्यक्रममा सहभागी नभएको दाबी गरेका छन्। उनका अनुसार नेपाली भाषा अन्सारीको पहिलो भाषा नभएकाले पोस्टको भाषाशैली आक्रामक देखिएको हुन सक्छ।
“उसले फेसबुकमा आफ्नो असन्तुष्टि व्यक्त गरेको मात्र हो। कुनै भौतिक आक्रमण वा विरोध कार्यक्रममा गएको थिएन। यति लेखेकै आधारमा पक्राउ गर्नु आवश्यक थियो कि थिएन भन्ने प्रश्न उठेको छ,” ती निकटस्थले भने।
यस घटनापछि सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक पदमा रहेका व्यक्तिप्रति आलोचनाको सीमा र विद्युतीय कारोबार ऐनको प्रयोगबारे बहस सुरु भएको छ। प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको र अदालतको आदेशअनुसार थप प्रक्रिया अघि बढाइने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्