कैलालीका ११ वनबाट काठ संकलन गरी मिलेमतोमा बिक्री गर्न खोज्दा अख्तियारको छापा

धनगढी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले कैलालीका डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरमा एकैसाथ छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको छ। ११ सामुदायिक वनबाट नियमविपरीत हरिया साल र खयरका रुख काटी ठूलो परिमाणमा काठ बिक्री गर्न खोजिएको उजुरीपछि आयोगले अनुसन्धान अघि बढाएको हो।

अख्तियार कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टका अनुसार दुवै कार्यालयबाट सम्बन्धित अभिलेख तथा कागजात संकलन गरी प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। उजुरीमा वन कार्यालयका कर्मचारी, उपभोक्ता समिति र अन्य पक्षबीच मिलेमतो गरी काठ कटान तथा लिलाम प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ।

उजुरीअनुसार डिभिजन वन कार्यालय धनगढीअन्तर्गत बाह्रवन साझेदारी वनबाट १ लाख ८६ हजार क्युफिट र केदारेश्वर सामुदायिक वनबाट ३६ हजार क्युफिट गरी कुल २ लाख २२ हजार क्युफिट काठ बिक्रीको तयारी गरिएको उल्लेख छ।

यस्तै, पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गतका नौ सामुदायिक वनबाट करिब १ लाख २३ हजार क्युफिट काठ बिक्री गर्न खोजिएको आरोप छ। यससँगै कैलालीका ११ सामुदायिक वनबाट कुल ३ लाख ४५ हजार क्युफिट काठ अवैध रूपमा संकलन गरी बिक्री तथा वितरणका लागि अनुमति दिइएको दाबी उजुरीमा गरिएको छ।

यसअघि पनि यही विषयमा प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा उजुरी परेको थियो। स्थलगत अनुगमनपछि समितिले लिलाम प्रक्रिया तत्काल रोक्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको थियो। अनुगमनका क्रममा वार्षिक २२ हजार क्युफिट मात्र कटान गर्न पाइने बाह्रवन साझेदारी वनबाट एकै वर्ष करिब १ लाख ८५ हजार क्युफिट काठ काटिएको तथ्य फेला परेको समितिले जनाएको थियो।

समितिले नेकपाका संसदीय दलका नेता खगराज भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिले पहलमानपुर क्षेत्रका सामुदायिक वनबाट समेत काँचो खयरका रुख संकलन गरिएको निष्कर्ष सार्वजनिक गरेको थियो।

संसदीय समितिको निर्देशनपछि पनि काठ लिलाम प्रक्रिया नरोकिएको भन्दै सरोकारवालाले अख्तियारमा उजुरी दिएका थिए। त्यसैका आधारमा अख्तियारले कागजात नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार