कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का क्षेत्रमा मंगलबार बिहान ईभी हाइस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार महेन्द्र राजमार्गअन्तर्गत टी एण्ड टी होटल नजिक सु.प.प्र. ०१–००१ ख ३७१४ नम्बरको ईभी हाइस अनियन्त्रित भई सडकको दाहिनेतर्फ रहेको नालामा पल्टिएको थियो।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–७ का २३ वर्षीय चालक मिलन भुजेल सामान्य घाइते भएका छन्। उनको ढाडमा चोट लागेको छ र चौमालास्थित लाइफकेयर क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–४ का २६ वर्षीय प्रकाश दाहालको मुख र छातीमा तथा कैलालीको गोदावरी नगरपालिका–२ का २८ वर्षीय सागर उपाध्यायको ढाड र खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको र थप उपचारका लागि धनगढीस्थित नोभा अस्पतालमा पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको समयमा हाइसमा चालकसहित तीन जना मात्रै सवार थिए। दुर्घटनाबाट सवारीको अगाडिको र पछाडिको भागमा पूर्ण क्षति पुगेको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्