धनगढीः बझाङको केदास्युँ गाउँपालिका–७ मा शनिबार भएको जिप दुर्घटनाको प्रारम्भिक अनुसन्धानले क्षमताभन्दा बढी यात्रु बोकेको र वर्षाका कारण सडक हिलाम्मे भएकाले दुर्घटना भएको देखाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुपप्र०१००१ च २६६४ नम्बरको जिप बुंगलबाट दुर्गाथलीतर्फ जाँदै गर्दा उकालो र घुम्ती भएको कच्ची सडकमा दुर्घटनामा परेको हो। जिपमा चालकसहित १६ जना सवार थिए।
प्रहरीका अनुसार वर्षाका कारण सडक चिप्लो बनेको थियो। उकालो चढ्न नसकेपछि चालकले जिपलाई पछाडि सारेर घुम्ती कटाउने प्रयास गरेका थिए। तर, अत्यधिक भार र चिप्लो सडकका कारण जिप नियन्त्रणबाहिर गई भीरतर्फ खस्दा दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले प्रारम्भिक अनुसन्धानले उकालोमा जिप नचढेपछि पछाडि सर्दै भीरतर्फ खसेको देखाएको बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सात जना गम्भीर घाइते भएका छन्। चालक देवेन्द्र धामी पनि गम्भीर घाइतेमध्ये एक हुन्।
गम्भीर घाइते सातै जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो। तीमध्ये पाँच जनाको उपचार नेपालगञ्जमै भइरहेको छ भने चालक धामी र दुर्गाथलीका रामबहादुर महतलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए।
सुदूरपश्चिमका पहाडी जिल्लामा स्थानीय तहले निर्माण गरेका कच्ची तथा साँघुरा ग्रामीण सडकमा वर्षेनि हुने सवारी दुर्घटनाले ठूलो मानवीय क्षति हुने गरेको छ। विज्ञहरूले सडकको गुणस्तर सुधार, सवारीको नियमित परीक्षण र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिमा नियन्त्रण आवश्यक रहेको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्