धनगढी — कैलाली र कञ्चनपुरका किसानले धान रोपाइँ सके पनि आवश्यक रासायनिक मल नपाउँदा चिन्ता व्यक्त गरेका छन्। धान रोपेको करिब १५ दिनभित्र प्रयोग गर्नुपर्ने डीएपी मल समयमै नपाउँदा उत्पादनमा असर पर्ने उनीहरूको भनाइ छ।
किसानका अनुसार यस वर्ष विशेषगरी डीएपी मलको अभाव देखिएको छ। डीएपी प्रयोग नगर्दा धानको वृद्धि कमजोर हुने र उत्पादन घट्ने जोखिम बढ्ने उनीहरू बताउँछन्। विगतमा सीमावर्ती क्षेत्रबाट भारत हुँदै केही मल ल्याएर आवश्यकता पूरा गर्ने गरेका किसानलाई यसपटक सीमा नाकामा कडाइ भएपछि थप समस्या भएको छ।
रोपाइँ सम्पन्न भए पनि मल नपाउँदा खेतीको लगानी खेर जाने डर किसानमा बढेको छ। सरकारले धानको मुख्य सिजनमै पर्याप्त मल उपलब्ध गराउन नसकेको भन्दै उनीहरूले समयमै आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।
सरकारी विवरणअनुसार कैलालीमा मात्रै धान खेतीका लागि वार्षिक करिब ३५ हजार मेट्रिक टन मल आवश्यक पर्छ। सुदूरपश्चिम प्रदेशभर करिब ५५ हजार मेट्रिक टन युरिया र ३५ हजार मेट्रिक टन डीएपी आवश्यक पर्ने अनुमान छ। कैलालीमा मात्रै वार्षिक करिब २२ हजार मेट्रिक टन डीएपी खपत हुने गरेको छ।
यस वर्ष धानका लागि साल्ट ट्रेडिङ धनगढीमा १ हजार ८९५ मेट्रिक टन युरिया र २ हजार ९०७ मेट्रिक टन डीएपी पुगेको छ। यता कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम कार्यालयले चालु आर्थिक वर्षका लागि १७ हजार ७० मेट्रिक टन युरिया र १२ हजार १८५ मेट्रिक टन डीएपी आपूर्तिको लक्ष्य पाएको जनाएको छ।
हाल धनगढी र महेन्द्रनगर डिपोमा केही मात्रामा मल मौज्दात रहे पनि किसानको मागअनुसार पर्याप्त नभएको अवस्था छ। कृषि सामग्री कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्ति समस्या, विशेषगरी इरान–अमेरिका द्वन्द्वका कारण मल आयात प्रभावित हुँदा अभाव भएको हो।
धानको सुरुवाती चरणमै मल अभाव भएपछि किसानले उत्पादनमा प्रत्यक्ष असर पर्ने चेतावनी दिएका छन्। समयमै मल उपलब्ध नगरिए आगामी धान उत्पादन घट्ने र त्यसको असर बजार तथा खाद्य सुरक्षामा समेत पर्ने उनीहरूको चिन्ता छ।




प्रतिक्रिया दिनुहोस्