फेरि बनगाउँबाट बढ्दो किनमेलले नेपाली बजार सुनसान, भन्सार नियम कार्यान्वयन फितलो

धनगढी । भारतको सीमावर्ती बनगाउँ बजारमा नेपाली उपभोक्ताको आकर्षण पुनः बढ्न थालेपछि कैलाली र कञ्चनपुरका स्थानीय बजारमा व्यापार सुस्ताएको व्यवसायीहरूले बताएका छन्। भन्सार नियमको प्रभावकारी कार्यान्वयन कमजोर हुँदा सीमापार किनमेल बढेको उनीहरूको भनाइ छ।

त्रिनगर भन्सार नाकाबाट भारत जाने नेपाली उपभोक्ताको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको स्थानीय व्यापारीहरूको दाबी छ। उनीहरूका अनुसार बनगाउँ बजारबाट लत्ताकपडा, जुत्ता–चप्पल, श्रृंगार सामग्री, भाँडाकुँडा तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गरेर भन्सार नतिरी नेपाल ल्याउने क्रम बढ्दै गएको छ।

दुई महिनाअघि सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान नेपाल भित्र्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेको थियो। प्रारम्भिक चरणमा सशस्त्र प्रहरीले नाकामा नियमित माइकिङ गर्दै उपभोक्तालाई नियमबारे जानकारी गराउँदा यसको प्रभाव देखिएको थियो। त्यस अवधिमा भारतीय बजार जाने उपभोक्ताको संख्या घटेको व्यवसायीहरूको भनाइ छ।

तर पछिल्ला केही सातायता माइकिङ तथा निगरानी कमजोर बनेपछि अवस्था फेरिएको उनीहरूको दाबी छ। अहिले दैनिक रूपमा ठूलो संख्यामा नेपाली उपभोक्ता भारतीय बजार पुगेर किनमेल गरिरहेको स्थानीय व्यवसायीहरू बताउँछन्।

साउन सुरु भएसँगै हरियो चुरा, पोते, साडी, कुर्ता, मेहन्दी तथा अन्य श्रृंगार सामग्रीको माग बढेकाले सीमापार किनमेल अझ बढेको देखिएको छ। सस्तो मूल्यको आकर्षणमा धेरै उपभोक्ता भारतीय बजार जाने गरेको व्यवसायीहरूको भनाइ छ।

व्यवसायीहरूका अनुसार भारतीय बजारका सबै सामान अपेक्षाअनुसार सस्ता वा गुणस्तरीय नहुन सक्छन्। केही वस्तुमा छुट देखाइए पनि अन्य सामानमा बढी मूल्य लिने प्रवृत्ति रहेको उनीहरूको दाबी छ। मूल्य तुलना नगरी किनमेल गर्दा उपभोक्ताले अनावश्यक रूपमा बढी खर्च गर्नुपर्ने अवस्था आउने उनीहरू बताउँछन्।

चाडपर्व नजिकिँदै जाँदा स्थानीय व्यापारमा अझ बढी असर पर्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्। सीमामा प्रभावकारी निगरानी नहुँदा एकातिर नेपाली बजारको कारोबार घट्ने र अर्कोतर्फ राज्यको राजस्वसमेत गुम्ने उनीहरूको भनाइ छ।

हाल सीमा नाकामा लागूऔषध तथा अन्य अवैध वस्तुको जाँच कडाइका साथ भइरहे पनि उपभोग्य सामानमा भन्सार नियम प्रभावकारी रूपमा लागू हुन नसकेको व्यवसायीहरूको आरोप छ।

स्थानीय व्यवसायीहरूले आन्तरिक व्यापार संरक्षण, राजस्व संकलन वृद्धि तथा अवैध रूपमा सामान भित्रिने क्रम रोक्न सीमा नाकामा भन्सार नियम कडाइका साथ कार्यान्वयन गर्न, नियमित अनुगमन बढाउन र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार