गणेश नेपालीको मृत्यु प्रकरणको विषयमा प्रहरीले अनुसन्धान गर्न काठमाडौं महानगरपालिकका तीन नगरप्रहरीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी काठमाडौंका प्रवंक्ता एवं एसपी पवन भट्टराईले यही प्रकरणको विषयमा तीन जना नगरप्रहरीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
‘हामीले ठ्याक्कै पक्राउ भनेका छैनौँ । तर, घटनाको विवरण बुझ्नको लागि प्रहरीले काठमाडौं महानगरपालिकाका तीन नगर प्रहरीलाई नियन्त्रणमा लिएको हो,’ उनले शिलापत्रसँग भने, ‘उहाँहरूसँग हिजो भएको घटनाको जानकारी लिइरहेका छौँ ।’
बिहीबार त्रिपुरेश्वरमा नगरप्रहरीले ह्वील लक गरेपछि मुगुका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । केहीबेरमा उद्दार गरेर वीर अस्पताल लगिए पनि शुक्रबार मध्याह्न उनको निधन भएको थियो ।
आत्मदाह प्रयासमासमेत नगर प्रहरीले रोक्न नखोजेको, बाइक उठाएर लान खोजेको भन्दै नगर प्रहरीको आलोचना भएको छ । प्रत्यक्षदर्शीले नै घटना हुन लाग्दासमेत नगर प्रहरीले बेवास्ता गरेको बयान दिएका छन् । सडकमा पार्किङ नगर्दै ह्वील लक लगाइएको थियो ।




प्रतिक्रिया दिनुहोस्