काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा सत्यतथ्य नबुझी प्रहरीमाथि आरोप लगाउने काम भएको बताएको छ ।
नेपालीलाई ट्राफिक जरिबानासमेत नगरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दाबी गरेको छ ।
“उक्त घटनामा ट्राफिक प्रहरीले जरिबाना तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरणहरू पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन्,” काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा जरिबाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध रहेको छैन ।”
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । शो विषयलाई जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
“घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीहरूबाट कानुनी रूपमा अनुसन्धान अघि बढिसकेको छ,” विज्ञप्तिमा उल्लेख छ, “यस अवस्थामा सत्यतथ्य नबुझी, आधिकारिक पुष्टि बिना र सुरक्षा निकायको नाम जोडेर सम्प्रेषण गरिने सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने हुँदा यस्ता अफवाहको पछि नलाग्न अनुरोध गरिन्छ ।”
बिहीबार राहादानी विभागअगाडि पार्किङ गरेको उनको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीको टोलीले ह्वील लक गरेको थियो । सोही क्रममा नगर प्रहरीसित विवाद भएपछि उनले आत्मदाहको प्रयास गरेको समाचारहरू बाहिर आएका थिए ।




प्रतिक्रिया दिनुहोस्