राष्ट्रिय युवा संघ नेपालले आत्मदाहको प्रयास गरेका गणेश नेपालीको घटनाप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति जारी गर्दै घटनाकाे निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
‘राष्ट्रिय युवा संघ नेपाल घाइते गणेश नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै घटनाको यथार्थ छानबिन गरी युवालाई यस्तो अवस्थामा पुऱ्याउने कारणहरूको निष्पक्ष अनुसन्धान गरी सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्नुका साथै घाइतेको सम्पूर्ण उपचारको जिम्मेवारी र क्षतिपूर्ति राज्यले वहन गर्न जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ ।
विज्ञप्तिमा घटनालाई कुनै एक व्यक्तिको पीडा मात्र नभई नेपाली युवाले भोगिरहेका बेरोजगारी, अवसरको अभाव, सेवाप्रवाहको जटिलता तथा राज्यप्रतिको घट्दो विश्वासको संकेतका रूपमा व्याख्या गरिएको छ ।
संघले सरकार गठनयता आर्थिक रूपमा संघर्षरत नागरिकभन्दा सम्पन्न वर्गको हितअनुकूल नीति र गतिविधिमा बढी केन्द्रित भएको अनुभूति जनस्तरमा बढ्दै गएको दाबी गरेको छ । नागरिकलाई सहज सेवा, रोजगारी, आवास र सम्मानजनक जीवन सुनिश्चित गर्नुपर्ने राज्य दण्ड, जरिवाना र विस्थापनमुखी रूपमा प्रस्तुत हुँदा सुकुम्बासी समुदायका समस्या र पछिल्लो आत्मदाह प्रयासजस्ता घटना देखिएको संघको भनाइ छ ।
संघले घटनाको वास्तविक कारणबारे निष्पक्ष अनुसन्धान गरी सार्वजनिक गर्न माग गर्दै घाइतेको सम्पूर्ण उपचार खर्च र उचित क्षतिपूर्तिको जिम्मेवारी राज्यले लिनुपर्ने बताएकाे छ ।
विज्ञप्तिमा युवाका समस्या, गुनासा र आकांक्षालाई समयमै सम्बोधन गर्न नसके समाजमा निराशा र वितृष्णा बढ्ने चेतावनी दिँदै सेवाप्रवाहलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन तथा युवालाई आशा, अवसर र भविष्यको सुनिश्चितता दिने नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
संघले कुनै पनि युवा आफ्नो भविष्यप्रति निराश भई जीवन समाप्त गर्न बाध्य हुने अवस्था अन्त्य गर्न राज्यका सबै निकाय तथा सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरेको छ ।




प्रतिक्रिया दिनुहोस्