कैलाली – कैलालीको घोडाघोडी नगरपालिका-१, सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयले कुमारी बैंक लिमिटेड, पहलमानपुर शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री तथा उपकरणहरू सहयोग प्राप्त गरेको छ।
बैंकले विद्यालयलाई ५ थान काठको डेस्क, ५ थान काठको बेन्च, १८० लिटर क्षमताको एक थान डि.एच.आई. (DHI) ब्राण्डको फ्रिज र झोला सहितको एक थान हार्मोनियम उपलब्ध गराएको हो।
यस सहयोगले विद्यालयमा पठनपाठनका लागि थप सहज र प्रभावकारी वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कुमारी बैंक पहलमानपुर शाखाका प्रमुख सुशिल ओझाले शिक्षा क्षेत्रमा सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पाटो भएको बताए। उनले भने, “गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधारमा सहयोग पुर्याउने उद्देश्यले यो सामग्री हस्तान्तरण गरेका हौँ। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रका यस्ता कार्यक्रमलाई निरन्तरता दिने बैंकको प्रतिबद्धता छ।”
यता, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयले बैंकको सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्