धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा स्रोत बाँडफाँटको विषयलाई लिएर विवाद चुलिएको छ। सार्वजनिक विवरणअनुसार दुर्गम जिल्ला बाजुराले पाएको कुल बजेटभन्दा मुख्यमन्त्री कमलबहादुर शाहको गृहपालिका लम्कीचुहा नगरपालिकाले एक्लैले बढी बजेट प्राप्त गरेको देखिएको छ।
आर्थिक मामिला मन्त्रालयको वार्षिक विकास कार्यक्रमअनुसार बाजुराका लागि करिब ८२ करोड ४९ लाख रुपैयाँ बराबरका योजना समावेश गरिएका छन्। यद्यपि, कार्यक्रम पुस्तिकामा केही प्राविधिक त्रुटि रहेकाले अन्तिम रकममा सामान्य हेरफेर हुन सक्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
उता, मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लम्कीचुहा नगरपालिकाका लागि ८७ करोड १७ लाख रुपैयाँ बजेट छुट्याइएको छ, जुन बाजुराको कुल बजेटभन्दा करिब ४ करोड ६८ लाख रुपैयाँ बढी हो।
यस्तै, सोही निर्वाचन क्षेत्रका मोहन्याल गाउँपालिकाले ५२ करोड ५९ लाख र जानकी गाउँपालिकाले ४० करोड ७६ लाख रुपैयाँ बजेट पाएका छन्। यी तीन स्थानीय तहमा मात्रै करिब पौने दुई अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन भएको देखिन्छ।
जिल्लागत रूपमा हेर्दा कैलालीले सबैभन्दा धेरै ७ अर्ब २१ करोड ८७ लाख रुपैयाँ बजेट पाएको छ भने बैतडी ३ अर्ब २ करोड १२ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ। डोटी, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ र दार्चुलाले पनि बाजुराको तुलनामा बढी बजेट प्राप्त गरेका छन्।
बजेट वितरणमा असन्तुलन भएको भन्दै सरकारको आलोचना बढ्दो छ। पहुँच र राजनीतिक प्रभावका आधारमा बजेट बाँडिएको आरोप सत्तापक्षकै केही सांसदहरूले लगाएका छन् भने प्रतिपक्षी र सरकारमा सहभागी केही दलका सांसदहरूले समेत बजेट पुनरावलोकन तथा संशोधन गर्न माग गरेका छन्।
यस विषयमा मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पुस्तिकामा देखिएका प्राविधिक त्रुटि सच्याएर सहमतिमै बजेट पारित गरिने बताएका छन्। तर, बजेट सार्वजनिक भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि प्रदेशसभामा बजेटमाथिको औपचारिक छलफल सुरु हुन सकेको छैन।




प्रतिक्रिया दिनुहोस्