धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चरम आर्थिक बेथिति मौलाएको छ। असार मसान्तको समयमा कार्यालयका कर्मचारीहरूको बैंक खातामा उनीहरूले माग नै नगरेको रकम अनाधिकृत रूपमा जम्मा हुन थालेपछि यो विषय सार्वजनिक भएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक प्रशासन शाखामा कार्यरत उपसचिव कृष्णबहादुर शाही (KB Shahi) ले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बैंक खातामा मुख्यमन्त्री कार्यालयबाट अनाधिकृत रूपमा रकम जम्मा भएको दाबी गर्दै स्क्रिनसट सार्वजनिक गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्:
”म समेत सहभागी भएको भन्दै दिउँसै बसेका बोलपत्र मूल्याङ्कन समिति र प्रस्ताव मूल्याङ्कन समितिका बैठक भत्ता मैले नमानी मुख्यमन्त्री कार्यालयबाट मेरो बैंक खातामा भटाभट आइरहेछन् त।”
उनको खातामा १४ हजार २५ रुपैयाँ र ७ हजार ६ सय ५० रुपैयाँ गरी फरक-फरक शीर्षकमा रकम जम्मा भएको देखिन्छ। उपसचिव शाहीले आफूले कुनै पनि रकम माग नगरेको र कुन आधारमा यो रकम पठाइयो भन्दै प्रश्न उठाएका छन्।
यसअघि पनि उनले मुख्यमन्त्री कार्यालयमा आर्थिक अनियमितता हुने गरेको दाबी गरेका थिए। कार्यालय समयभित्रै सम्पन्न भएका बैठकहरूलाई भत्ताको लोभमा कार्यालय समय बाहिर बसेको देखाएर नक्कली विवरण तयार पारिएको आरोप उनले लगाएका छन्। माग नै नगरिएको रकम कर्मचारीको खातामा पुगेपछि सम्बन्धित अन्य कर्मचारीहरूसमेत अचम्ममा परेका छन्।




प्रतिक्रिया दिनुहोस्