नेपाली ब्रो को प्रेमिकाको बयान,– म जुम्लाबाट काठमाडौं आएर गोकर्णेश्वर, बौद्ध क्षेत्रमा परिवारसँग बस्दै नर्सिङ अध्ययन गरिरहेकी छु। आजभन्दा करिब दुई वर्षअघि टिकटककै माध्यमबाट मेरो चिनजान कुमार थापा मगर ९नेपाली ब्रो० सँग भएको हो। उनी टिकटकमा भाइरल थिए। चिनजानपछि हाम्रो फोन नम्बर आदानप्रदान भयो र हामी भेटघाट गर्न थाल्यौँ।
\कुमारले मलाई टिकटक भिडियोहरू बनाउन प्रस्ताव गरे। उनी भाइरल भएकाले मैले पनि उनको प्रस्ताव स्वीकार गरेँ। पछि उनले मलाई आफ्नो रेस्लिङ खेलको ‘इभेन्ट म्यानेजर’ बनाए।
सोही क्रममा हाम्रो सम्बन्ध गहिरिँदै गयो र हामी मायाप्रेममा बाँधियौँ। हामी होटल र रेष्टुरेन्टहरूमा सँगै बस्ने गर्थ्यौँ र हाम्रो बीचमा शारीरिक सम्बन्ध पनि भयो। यो विषयमा उनको घरमा श्रीमतीले थाहा पाइन । त्यसपछि परिवारमा विवाद हुन थाल्यो ।
कुमारको पारिवारिक विवाद, अदालतको मुद्दा र दैनिक झगडाका कारण म निकै तनावमा थिएँ। उनीहरूका साना बालबच्चा भएकाले उनीहरूको घरबार नबिग्रियोस् भन्ने मेरो चाहना थियो।
त्यसैले मैले कुमारलाई स्पष्ट रूपमा भनेकी थिएँ, ‘हाम्रो सम्बन्ध अब अगाडि बढ्न सक्दैन। तिम्रो पारिवारिक समस्या हल नभएसम्म म तिमीसँग बस्न सक्दिनँ। अब हामी आ–आफ्नो बाटो लागौँ र भेटघाट बन्द गरौँ।’
म कुमारसँगको सम्बन्ध तोडेर विदेश जाने तयारीमा थिएँ र करिब एक महिनादेखि मैले कुमारसँग भेटघाट गरेकी थिइनँ। फोनमा मात्र सामान्य कुराकानी हुने गर्थ्यो।
जेठ २२ गते ९घटनाको दिन० म मेरा साथीहरू रिया तामाङ र गम्भीर श्रेष्ठसहित चार जना मिलेर कुलेखानी घुम्न गएका थियौँ। हामी त्यहीँ बस्ने योजनामा थियौँ।
कुलेखानीमा बस्ने क्रममा जेठ २२ गते राति सामाजिक सञ्जाल र हल्लामार्फत कुमारले आफ्नी श्रीमती ईश्वरीको घाँटी रेटी हत्या गरेको कुरा मैले थाहा पाएँ।
त्यो सुनेर हामी निकै डराएका थियौँ र राति नै गाडी रिजर्भ गरेर काठमाडौं फर्कियौँ। भोलिपल्ट जेठ २३ गते प्रहरीले मलाई अनुसन्धानका लागि नियन्त्रणमा लियो।
ममाथि लागेको हत्याको दुरुत्साहनको आरोप लाग्यो तर यो पूर्ण रूपमा असत्य हो। मैले कुमारलाई ईश्वरीको हत्या गर्न कहिल्यै उक्साएकी छैन। ‘पहिले श्रीमतीलाई मार अनि मात्र म तिम्रो घरमा आउँछु’ भनी मैले कहिल्यै भनेकी छैन।
हो, कुमार र ईश्वरीबीचको घरायसी विवादको एउटा कारण म र कुमारबीचको प्रेम सम्बन्ध थियो, तर हत्या गर्ने योजना वा कार्यमा मेरो कुनै संलग्नता छैन।
कुमारले ककसको सरसल्लाह वा आफ्नै आवेगमा आएर यो हत्या गरे, त्यसबारे मलाई कुनै जानकारी छैन।




प्रतिक्रिया दिनुहोस्