नेपाल राष्ट्र बैंकले पछिल्ला केही महिना लगातार बढ्दै गएको मूल्यवृद्धि दर आगामी महिनाबाटै कम हुने आकलन गरेको छ।
आगामी वर्षका लागि मौद्रिक नीति जारी गर्ने क्रममा गभर्नर विश्वनाथ पौडेलले बाह्य दबाबका कारण मुद्रास्फीतिमा केही चाप परेको भए पनि आगामी महिनादेखि यसको दबाब कम हुँदै जाने अपेक्षा राखिएको बताए।
मुद्रास्फीतिको दबाब बिस्तारै सहज हुने देखिएकाले आगामी वर्ष समग्र मूल्य स्थिति ५.५ प्रतिशतको सीमाभित्र रहने राष्ट्र बैंकले जनाएको छ।
मुद्रास्फीतिमा दबाब बढ्दै गए अन्य उपाय अवलम्बन गरिने मौद्रिक नीतिमा उल्लेख छ।
‘यथेष्ट तरलता सहितको न्यून लागत अर्थतन्त्रबाट सार्वजनिक एवं निजी क्षेत्रले अपेक्षित लाभ लिन नसकेमा एवं समष्टिगत आर्थिक स्थायित्वमा चुनौती देखिन थाले मौद्रिक नीतिको कार्यदिशामा पुनरवलोकन गरिनेछ। विद्यमान व्याजदर करिडोरलाई आवश्यक्ता अनुसार क्रमशः साँघुरो बनाउँदै लगिनेछ,’ मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर पौडेलले भने।




प्रतिक्रिया दिनुहोस्