कञ्चनपुर :- नेपाल बैंक लिमिटेड धनगढीका एक सवारी चालक लागुऔषध कारोबारमा संलग्न रहेको पाइएपछि प्रहरीको फन्दामा परेका छन्।
सुदूरपश्चिम प्रदेश कार्यालय समेत रहेको नेपाल बैंक धनगढीका प्रमुख अम्बिका प्रसाद अधिकारीको सरकारी गाडी चलाउँदै आएका विमल पाण्डे लागुऔषध सहित कञ्चनपुरबाट पक्राउ परेका हुन्।
बेदकोट नगरपालिका–७ का स्थायी बासिन्दा पाण्डे कञ्चनपुरको गुलरियाबाट बैंक प्रमुखकै गाडीसहित पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको टोलीले गोप्य सूचनाका आधारमा पाण्डे सहित अन्य ३ जनालाई ३० ग्राम लागुऔषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए।
पाण्डेसँगै कृष्णपुर नगरपालिका–२ का लालबहादुर सुनार, हेमराज जोशी र धनगढी उपमहानगरपालिका-५ तारानगरका अशोक पाण्डे पनि पक्राउ परेका छन्। पक्राउ परेका मध्ये एक जना स्वास्थ्यकर्मी समेत रहेको बुझिएको छ। यसै प्रकरणमा जोडिएका अन्य एक जना भने अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकै दिन जागिरबाट बर्खास्त
प्रहरीले बैंकको गाडी र चालकलाई नियन्त्रणमा लिएपछि नेपाल बैंक लिमिटेडले तुरुन्तै कडा कदम चालेको छ। कार्यालय प्रमुख अम्बिका प्रसाद अधिकारीका अनुसार पाण्डे पक्राउ परेको दिनदेखि नै लागु हुने गरी उनलाई जागिरबाट बर्खास्त गरिएको छ।
क्षेत्रीय प्रबन्धक अधिकारीले घटना भएको दिनको विवरण स्पष्ट पार्दै भन्नुभयो, “त्यस दिन म आफैँ प्रादेशिक कार्यालयमै थिएँ। चालक पाण्डे भने लम्की क्षेत्रका ग्राहकहरू देखाउनका लागि त्यता गएका थिए। तर, उनी अफिसियल काम सकिएपछि धनगढी कार्यालयमा नफर्किएर बैंकको गाडीसहित कञ्चनपुरतिर लागेका रहेछन् र त्यहीँ पक्राउ परे।”
चालक पाण्डेको बोली र व्यवहार हेर्दा यस्तो गैरकानुनी धन्दामा संलग्न होलान् भन्ने कसैलाई शङ्का नलागेको र उनी एकाएक लागुऔषध मुद्दामा पक्राउ परेपछि बैंकका अन्य कर्मचारीहरू समेत अचम्ममा परेका छन्।
प्रहरीले बरामद गरिएको गाडी र पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ।




प्रतिक्रिया दिनुहोस्